समाज

गाउँपालिका उपाध्यक्षनै मूर्ति तस्करीमा संलग्न

मूर्ति चोरीमा संलग्न आरोपीको फाइल फोटो

डोल्पा – डोल्पामा गाउँपालिकाका उपाध्यक्ष नै बौद्ध मूर्ति तस्करीमा संलग्नता रहेको पाइएको छ। उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाका उपाध्यक्ष मलामटसी गुरुङ प्राचिन बौद्ध मूर्ति तस्करीमा संलग्नता रहेको पाइएको हो।

शे–फोक्सुण्डो गाउँपालिका ४ को राहाप गुम्बाबाट ८ वर्षअघि प्राचिन बौद्ध मूर्ति र स्तुपाहरू तस्करीमा रहेको प्रहरी अनुसन्धानबाट खुलेपनि फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ। गुम्बाबाट हराएका ३८ थान बुद्धका मूर्ति र स्तुपाहरू चोरीमा उपाध्यक्ष गुरुङनै मुख्य नाइके भएको जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक अभदेश बिष्टले बताए।

स्थानीयतहको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित हुनुअघि देखि नै मुख्य योजनाकारको रुपमा गुरुङले मूर्ति तस्करी गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको हो। केही दिनअघि मूर्ति चोरीमा संलग्नलाई प्रहरीले एकपछि अर्को गर्दै पक्राउ गर्न थालेपछि पक्राउ पर्ने डरले गुरुङ नेपाल छाडेर भारतमा लुकेर बसेको प्रहरीले जानकारी दिएको छ।

यसअघि मूर्ति चोरीमा संलग्न ४ जनालाई काठमाडौंबाट प्रक्राउ गरिएको थियो। पक्राउ परेका ४ जनामध्ये ३ जना ९ माघमा जेल चलान भएका छन्। शे–फोक्सुण्डो गाउँपालिका ४ का ४१ वर्षीय उर्केन पासाङ, सोही गाउँपालिका १ का ४१ वर्षीय झयाम्पा छुल्डीम लामा, वडा नम्बर ४ का पासाँङलुण्डुप गुरुङ र्पुपक्षका लागि जेल चलान भएका छन्।

दुई अध्यक्ष धरौटीमा रिहा
मूर्तिमा संलग्न रहेको आरोपमा पक्राउ परेका २ अध्यक्ष भने धरौटीमा रिहा भएका छन्। डोल्पोबुद्ध गाउँपालिका ५ का वडा अध्यक्ष कार्मा गुरुङग र सोहि गाउँपालिका ३ का छिरिङ धावा गुरुङ भने जनही ५० हजार रुपैयाँ धरौटी सहित ९ माघमा रिहा भएका छन।

प्रकाशित: ११ माघ २०७५ १०:२१ शुक्रबार

मूर्ति_तस्करी डोल्पा तस्करी गाउँपालिकाका_उपाध्यक्ष