समाज

पत्रकारमाथि प्रहरी दुर्व्यहार

वीरगन्ज – वीरगन्ज–पोखरिया सडकखण्ड अवरुद्ध भएको समाचार संकलन गर्न पुगेका पत्रकारमाथि बिहीबार बिहान प्रहरीले दुर्व्यहार गरेको छ। सो सडकखण्डको पदमरोडबाट बरामद केराउ जफत गर्ने उद्देश्यले सीमाक्षेत्रमा भनेर मुचुल्का बनाई लैजान खोजेको भन्दै स्थानीय व्यापारीले प्रहरीविरुद्ध प्रदर्शन गर्दा सडक अवरुद्ध भएको थियो। प्रदर्शनकारीलाई प्रहरीले कुटपिट गरेको दृश्य संकलन गर्ने क्रममा पत्रकारमाथि प्रहरी आइलागेको थियो।

प्रदर्शनमा प्रहरी हस्तक्षेपको दृश्य कैद गरिरहेको जनता टिभीका पर्सा संवादाता श्याम कुशवाहा, टिभी टुडेका प्रतिनिधि उमेश दुबे, प्राइम टिभीका संवाददाता आरोहन साह, स्थानीय एनपी डेलीका दीपक चौरसियामाथि प्रहरीले लाठी प्रहार गरेको जनाइएको छ। प्रहरीको लाठी प्रहारबाट कुशवाहाको मुखमा चोट लागेको छ। ‘भिडियो किन खिचेको ?’ भन्दै प्रहरीले अन्धाधुन्ध लाठी चार्ज गरेपछि आफू घाइते भएको पत्रकार कुशवाहाको भनाइ छ।

घटनापछि नेपाल पत्रकार महासंघ पर्साको अगुवाइमा जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका पत्रकारहरूले शुक्रबार बिहानसम्म दोषी प्रहरीलाई कारबाही नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको महासंघ पर्सा उपाध्यक्ष अनुप तिवारीले बताए। प्रहरी नायब उपरीक्षक मानबहादु राई नेतृत्वको टोलीका प्रहरी हवलदार हरेराम महतोलगातले पत्रकारमा लाठी चलाएको बताइएको छ।

प्रकाशित: ११ माघ २०७५ ०३:४४ शुक्रबार

वीरगन्ज–पोखरिया_सडक पत्रकार दुर्व्यहार प्रहरी प्रदर्शन दृश्य