समाज

हुम्लामा हिमपातसँगै स्की (फाेटाे फिचर)

हुम्ला - हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा हिमपातसँगै पहिलो पटक स्की खेल (चिप्लेटी) सुरु भएको छ। हुम्ला  सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन युवा सञ्जालको आयोजना तथा स्की स्नोबोडिङ्ग फाउण्डेशन नेपालको सहयोगमा जिल्लामा पहिलो पटक स्की सुरु गरीएको हो।

पर्यटकीय सम्भावना भएको यस जिल्लामा हिँउदको समय स्कीको सम्भावना भएकोले यस वर्षबाट सुरु गरिएको संस्कृति तथा पर्यटन प्रवर्द्धन युवा सञ्जालका अध्यक्ष अविनाश लामाले बताए। स्की खेल्न प्रयोग गरीने ४ सेट स्की बोर्ड, ४ सेट स्टीक र २ सेट हेलमेट सहित यसका लागि चाहिने सबै सामान  हुम्लामा पुर्‍याई सकिएको छ। हुम्लाका युवालाई यो खेल सिकाउनका लागि नेपालका स्की कोच जर्मन नागरिक जुलिएस सैनेडेर हुम्ला पुगेका छन्। उनले हुम्लाको हिँउमा स्कीको मजा लिदै स्की सिक्न चाहने युवाहरुलाई यो खेल सिकाई रहेका छन्।

हुम्लामा मंसिर सुरु भएसँगै चैत्र सम्म हिमपात हुने भएकाले यो खेललाई निरन्तरता दिएमा आन्तरिक तथा बाह्य पर्यटकहरु स्की खेल्न आउने र हुम्लाको पर्यटन प्रवर्द्धन हुनकाे साथै आयश्रोतमा समेत वृद्धि हुने सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताए।

 

हुम्ला हिमपात स्की