समाज

प्रहरीसँगको मुठभेडमा सशस्त्र समूहका कमाण्डरको मृत्यु

लहान – सप्तरीको रुपनी नजिक प्रहरी कारवाहीमा परि बुधबार बिहान सशस्त्र समूहका कमाण्डरको मृत्यु भएको छ। प्रहरी कारवाहीमा मारिने प्रगतिशील तराई मुक्ति मोर्चाका कमाण्डर सप्तरी कडरबोना निवासी ३५ वर्षीय निशान थारु (दिपेन्द्र चौधरी) हुन्।

पारीबाट हतियारसहित मानिस प्रवेश गरेको सूचना पछ्याउँदै प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीसँग सप्तरीको रुपनी नजिकै भएको मुठभेडमा चौधरी मारिएका हुन्। मोटरसाइकल पछाडी बसेका चौधरीले प्रहरीमाथि फायर गरेपछि जवाफी कारवाहीमा उनी मारिएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआइजी हरिबहादुर पालले बताए। मृतक चौधरीको निधारमा एक गोली लागेको प्रहरीले जनाएको छ।

चौधरीको साथबाट प्रहरीले १ थान कटुवा पेस्तोल समेत बरामद गरेको छ। माघ २ गते सप्तरीको विसनपुर चोकमा प्रहरी हवल्दार महेन्द्र यादवमाथि गोली प्रहार गरेको घटनामा चौधरीको संलग्नता रहेको प्रहरीले जनाएको छ। गोली लागि घाइते प्रहरी हबल्दार यादव जीवन मरणको अवस्थामा छन्। २०७२ सालमा सप्तरीमा कार्यरत असई रमेश सुब्बाको हत्यामा समेत चौधरीको संलग्नता रहेको पालले बताए।

०७४ सालमा इलाका प्रहरी कार्यालय कडरबोनाका इन्सपेक्टर राजेन्द्र यादव चढेको प्रहरी भ्यानमाथि एम्बुस थापेर बिस्फोट गराएको प्रहरीले जनाएको छ। डिआइजी पालका अनुसार सिरहामा केहि दिन अगाडि प्रेसर कुकर बम राखेर त्रास फैलाउने लगायतका धेरै आपराधिक कार्यमा उनको संलग्नता रहेको पाइएको छ। 

प्रकाशित: ९ माघ २०७५ ०५:१२ बुधबार

सप्तरी प्रहरी_कारवाही तराई_मुक्ति_मोर्चा कमाण्डर निशान_थारु मृत्यु मुठभेड