समाज

खोटाङमा ‘बाँदर धपाऊ’ अभियान

खोटाङ - बाँदर आतंक नियन्त्रणका लागि खोटाङको उत्तरी क्षेत्रका बासिन्दाले ‘बाँदर धपाऊ’ अभियान सुरु गरेका छन्। बाँदरका बथान आएर खेतबारीका बालीनाली सखाप पार्ने गरेका कारण केपिलासगढी गाउँपालिका वडा नम्बर ४ का बाक्सिला, सिमपानी, दशकटे, खोक्मा, खुवालुङ, पोखरी, साक्सिला, वडा नम्बर ३ को बाँसपानी, वडा नम्बर ५ को सप्तेश्वर तथा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ११ मा पर्ने खार्मीलगायत गाउँका बासिन्दाले आपसमा चन्दा उठाएर उक्त अभियान थालेका हुन्।

बाँदरले हैरान पारेपछि प्रतिघरधुरी दुई सय रुपैयाँ उठाएर बाँदर धपाउने टोली परिचालन गरिएको केपिलासगढी गाउँपालिका–३ का वडाध्यक्ष खगेन्द्र गुरुङले बताए। गाउँ वरपरका जंगलमा बस्ने बाँदरलाई कम्तीमा दूधकोसी किनारमा रहेको रावा खोला फेदीसम्म खेद्ने गरिएको बाक्सिलाका बासिन्दा हीराधन राईले बताए। बाँदर धपाउन हरेक घरबाट एक जना अनिवार्य खट्नुपर्ने नियम बनाइएको उनले जानकारी दिए। बाँदर आतंकबाट मुक्ति पाउन किसान जति पनि खर्च गर्न तयार रहेको वडाध्यक्ष गुरुङले बताए।

बाँदरले बालीनाली खाएर हैरान पारेपछि प्रतिघरधुरी दुई सय रुपैयाँ चन्दा उठाएर बाँदर धपाउने अभियान थालिएको केपिलासगढी गाउँपालिका–३ का वडाध्यक्ष खगेन्द्र गुरुङले बताए।

बाँदर मार्न कानुीन अड्चन भएकाले स्थानीय बासिन्दाले यस्तो अभियान चलाएका हुन्। बाँदर नियन्त्रणबारे छलफल गर्न गत मंसिर १६ गते दिक्तेलमा आयोजित किसान भेलाले बाँदर व्यवस्थापन समिति गठन गरेको थियो। त्यसको केही समयपछि नै स्थानीय बासिन्दाले बाँदर धपाउ अभियान सुरु गरेका हुन्। तर धपाएको बाँदर फेरि फर्कने भएकाले यो अभियान प्रभावकारी नहुनेमा कतिपयले आशंका गरेका छन्।

खोटाङका धेरैजसो ठाउँमा बाँदर आतंक छ। खासगरी नदी तथा खोला आसपासका बस्तीमा यो समस्या बढी छ। खेतबारीमा टुसाउँदै गरेका विरुवादेखि पाकेर भिœयाउन ठिक्क भएका विभिन्न बालीनालीसम्म बाँदरले विनाश गर्ने गरेका छन्। एकै पटकमा डेढ÷दुई सयको संख्यामा आउने बाँदरका हूलले बर्सेनि मकैका सुत्ला च्यात्ने, घोगा नष्ट गर्ने, गहुँ, कोदाका बिऊ उखेल्ने, अलैंची, आलु, धान, करेला, सुन्तला, कागती, केरा सखाप पार्ने गरेको स्थानीय किसान बताउँछन्। यसले गर्दा कृषि उत्पादनमै ह्रास हुँदा अनिकाल लागेर बसाइँ नै सर्नुपर्ने अवस्था आएको बाँदर व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे बताउँछन्।

बाँदर नियन्त्रणका लागि हतियार चलाउन पाउनुपर्ने कि स्थानीय सरकारले नै बाँदर धपाउने हेरालुको व्यवस्था गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ। यसैगरी बाँदरले विनाश गर्ने बालीनालीको क्षतिपूर्ति दिनुपर्ने कि अन्यत्रै बसाइँ सर्ने व्यवस्था सरकारले गर्नुपर्ने बाँदरपीडित किसानको माग छ।

प्रकाशित: ९ माघ २०७५ ०३:२२ बुधबार

खोटाङ बाँदर_आतंक बाँदर_धपाऊ बालीनाली