समाज

हिमपातले डाँडाकाँडा सेताम्य, जनजीवन कष्टकर

डोल्पा – डोल्पामा हिमपात सुरु भएको छ। सोमबार रातिदेखि बादल लागेपनि आज बिहानैदेखि हिमपात सुरु भएको हो। त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुराकोट, करेलीकाँडा, पहाडा, लिकु, दापु जगदुल्ला गाउँपालिकामा पर्ने रिमी काइगँउ, ठुलीभेरी नगरपालिकामा पर्ने जुफाल, माझफाल, रह लगायतका स्थानमा अहिले हिमपात भइरहेको छ।

सदरमुकाम दुनैमा बर्षात भइरहेपनि केही समयमै हिमपात सरु हुने सम्भावना रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक अभदेश बिष्टले जानकारी दिए। तल्लो डोल्पामा हिमपात सुरु भइसकेकाले उपल्लो डोल्पामा भने धेरै हिमपात भएको अनुमान गर्न सकिने प्रहरी नायब उपरीक्षक बिष्टको भनाई छ।

बिहानैदेखि हिमपात सुरु भएर तापक्रम शुन्यमा झरेपछि डोल्पालीको जनजीवन कष्टकर बनेको छ भने कर्णालीका बस्ती र डाँडाकाँडाहरू हिउँले सेताम्य भएका छन्। तल्लो डोल्पा भन्दा उपल्लो डोल्पा उच्च स्थानमा पर्ने भएकाले उपल्लो डोल्पामा धेरै हिमपात भएको र त्यहाँको जनजीवन थप कष्टकर बनेको छ। यस पटक परेको हिमपात सहित डोल्पामा दोस्रो पटक हिउँ परिसकेकाले खेतबारीमा लगाइएको गहुँ, जौँ, उवा लगाएतका बालीनालिका राम्रो हुने भन्दै कृषकहरु समेत उत्साहित भएका छन्।

प्रकाशित: ८ माघ २०७५ ०७:३८ मंगलबार

डोल्पा हिमपात हिउँ डाँडाकाँडा जनजीवन