समाज

देशभर मौसम बदली, काठमाडौँमा पानी पर्ने

काठमाडौं – मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

पश्चिमी वायुको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली देखिए पनि बेलाबेलामा घाम पनि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अपराह्नदेखि भने देशभर पूर्ण बदली भई हल्का वर्षा र उच्च पहाडी भेगतिर मध्यम खालको हिमपात हुने मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए।

रातिचाहिँ काठमाडौँ उपत्यकामा पनि वर्षा हुन सक्ने बताइएको छ।  “यस अवधिमा न्यूनतम तापक्रम नघटे पनि अधिकतम तापक्रम घट्ने भएकाले बढी चिसो महसुस गरिएको हो”, मौसमविद् नगरकोटीले भने। आज काठमाडौँको न्यूनतम तापक्रम ५ दशमलव ० डिग्री सेल्सियस मापन गरिएको छ। सोमबार काठमाडौँको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस थियो।

राति देशको पश्चिमी क्षेत्रका अधिकांश स्थानमा मध्यमदेखि हल्का हिमपात र वर्षाको सम्भावना छ। साथै उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुने महाशाखाले जनाएको छ। त्यस्तै बुधबार मौसममा आंशिकदेखि सामान्य बदली हुने र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

बिहीबार देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँको न्यूनतम तापक्रम ५.० तथा अधिकतम तापक्रम २० दशमलव ८ डिग्री सेल्सियस छ। दाङमा न्यूनतम तापक्रम माइनसमा झरेको छ । सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २७ डिग्री सेल्सियस छ।    (रासस)

प्रकाशित: ८ माघ २०७५ ०७:१६ मंगलबार

मौसम काठमाडौँ पानी हिमपात