समाज

कर्णालीमा भारी हिमपात, तापक्रम माइनस ८ डिग्री

हुम्लाको सिमकोटमा भएको भारी हिमपात । तस्बिर : जनक/नागरिक

कालिकोट – हिमपात र अविरल बर्षाले कर्णालीको जनजीवन प्रभावित बनेको छ। कर्णालीका हिमाली जिल्लामा हिमपात भएपछि जनजीवन प्रभावित बनेको हो। सोमबार मध्यरातीबाट हिमपात र बर्षा भएको छ। लामो समयपछि परेको हिमपात र वर्षाका कारण चिसो बढेको छ।

कर्णालीको कालिकोट, जुम्ला, मुगु, हुम्ला, डोल्पालगायतका अन्य जिल्लामा हिमपात र पानी परेको छ। कालिकोटमा हिमपात हुनुका साथै पानी पनि परेको छ। हिमपात र अविरल परेको पानीले बालबालिका, वृद्धवृद्धालाई चिसोले सताएको छ। बालबालिका र वृद्धवृद्धालाइ न्यानो कपडाले सुरक्षित गर्नुपर्ने स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। 

हुम्ला मुगु र जुम्लामा पनि भारी हिमपात भएको छ। हिमपातले विभिन्न स्थान र डाँडाकाँडा सेताम्य भएका छन्। हिमपातका कारण जाडो बड्नुका साथै कर्णालीको जनजीवन कष्टकर बनेको जिल्ला प्रशासन कार्यालय कालिकोटले जनाकारी दिएको छ।

कर्णालीको उच्च पहाडी जिल्लामा अधिकांश बस्ती हिउँले ढाकिएका छन्। कालिकोटका लेकाली गाउँमा हिउँ जमेको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए। त्यस्तै हुम्लाको सिमकोटमा डेड फिट हिँउ जमेपनि उत्तरी क्षेत्रका बस्तीमा तीन फिटभन्दा बढी हिउँ जमेको जिल्ला प्रशासन हुम्लाले बताएको छ। हिमपात र अविरल वर्षाका कारण विद्युत आपुर्तीमा समेत समस्या आएको छ।

हिमपातसँगै कर्णालीको उच्च भागमा तापक्रम माइनस ८ डिग्री सेल्सियस आएको मौसमविदले जानकारी दिएका छन्। हिमपात भएको ठाउँमा पिउने पानी समेत चिसोले जाम भएको छ। हिमपातले नेपालगन्ज र सुर्खेतबाट जुम्ला, मुगु र हुम्लामा उडान हुने हवाइ सेवा समेत बन्द भएका छन्। 

लामो समयपछि हिमपात र पानी आउदा किसान भने खुशी देखिएका छन्। खडेरी हिउँदे वालीमा निकै संकट ल्याएको थियो। पानी पर्दा किसानलाई राहत भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ। हिमपात र पानीले गरि खाने आसा पलाएको रास्कोट नगरपालिका २ का परि न्यौपानेले बताए।

प्रकाशित: ८ माघ २०७५ ०७:०० मंगलबार

कर्णाली हिमपात तापक्रम जनजीवन