समाज

सुत्केरीलाई सम्मानसहित प्रोत्साहन भत्ता

खोटाङको बाम्राङमा सम्मानसहित प्रोत्साहन भत्ता लिएकासुत्केरीलगायत। तस्बिर : नागरिक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङका चार सुत्केरीलाई सम्मानसहित प्रोत्साहन भत्ता हस्तान्तरण गरिएको छ। स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउने स्थानीय कमला थापा, सुस्मिता दाहाल, रमा रम्तेल र शर्मिला खत्रीलाई दोसल्ला ओढाएर सम्मान गर्दै यातायात खर्च तथा प्रोत्साहन भत्ता हस्तान्तरण गरिएको हो।

नियमअनुसार चारपटक गर्भ जाँच तथा बर्थिङ सेन्टरमा सुत्केरी भएबापत सरकारबाट उपलब्ध एकमुस्ट २ हजार ८ सय रुपैयाँका दरले वडाध्यक्ष ललित राई, वडासदस्य राजेन्द्र राई, दिल चामलिङ, स्थानीय स्वास्थ्य सहयोग समितिका अध्यक्ष ज्ञानबहादुर राई लगायतले ती चार सुत्केरीलाई प्रोत्साहन रकम हस्तान्तरण गरेका हुन्।

उक्त अवसरमा स्थानीय गर्भवतीहरूलाई पनि सम्मान गरिएको ब्रामाङस्थित स्वास्थ्यचौकीका अहेव प्रकाश घिमिरेले जानकारी दिए। सम्मान र प्रोत्साहन भत्ता लिन सुत्केरीहरू नवजात शिशु बोकेर वडा कार्यालयमा आएका थिए। घरैमा सुत्केरी हुने असुरक्षित चलनलाई न्यूनीकरण गर्न सरकारले स्वास्थ्य संस्थामा गएर गर्भ जाँच गराउने तथा बच्चा जन्माउने महिलालाई प्रोत्साहन भत्ता दिने गरेको छ।

प्रकाशित: ७ माघ २०७५ ०३:११ सोमबार

सुत्केरी प्रोत्साहन_भत्ता गर्भवती