समाज

ठेकेदारको लापरबाहीले बिजुली अन्यौलमा

भारतीय दुतावासका सेक्सन अफिसर मृगेन्द्रलाल बिद्युत गृहमा जडान गरिएको मेसिनको अनुगमन गर्दै । तस्बिर : डिबी / नागरिक

जुम्ला – भारतीय ठेकेदार कम्पनीको ढिलासुस्ती र लापरवाहीका कारण साना जलविद्युत उपभोक्ता समिति जुम्लाको विद्युत गृहमा रहेको टर्बाइन जडान कार्य अलपत्र परेको छ । एक महिना भित्र टर्बाइन जडान गरेर बिद्युत सेवालाई  प्रभावकारी बनाउने लक्ष्य राखिएको भएपनि अहिलेसम्म मर्मत कार्य नसकिदा जुम्लाबासी अध्याँरोमा बस्न बाध्य छन्। भारतीय पासी शुभकामना जेभिले बिद्युत गृहमा रहेको टर्बाइनदेखि लिएर आवश्यक उपकरण जडान गर्ने जिम्मेवारी २०७२ पुस महिनादेखि लिएको थियो । 

ठेकेदारको लापरवाहीले मर्मतको काम पुरा हुन नसकेको साना जलबिद्युत उपभोक्ता समितीका अध्यक्ष बिष्णुबहादुर बुढ्थापा बताउँछन्। उनले भने,“ टेण्डर सम्झौता भएपछि १८ महिनाको समय दिइएको थियो, त्यो समय भित्र सिन्को भाचि दुई काम भएन् । निकै आल टाल भयो, ठेकेदार बजेट फुत्काउनमै लाग्यो ।  अहिलेसम्म १ करोड ३२ लाख रुपैयाँ लगिसकेको छ।”

पुस महिनासम्मको लागि दोस्रो पटक समय थपिएको थियो। त्यो समय पनि सकिसकेको छ। ठेकेलदारले एउटा टर्बाइन जोडेर बिद्युत सञ्चालनमा ल्याउन सकेको छैन्। बरु पुरानो टर्बाइन झिकेर जिल्लालाई अन्धकार बनाउने काम गरेको छ।  ठेकेदारसँग चालु पूजी नभएर हुन सक्छ, रफ्तारमा काम अघि बढ्न सकेको छैन्, समितिका अध्यक्ष बुढ्थापाले भने,“काम हुन सकेको छैन्, थपिएको म्याद सकिसकेको छ। जनताले उज्यालोको अनुभुति गर्न सकेका छैन्। 

जिल्ला समन्वय समितिले भारतीय दुतावासबाट प्राप्त २ करोड ६३ लाखको टेण्डर खोलेकोमा समन्वय समितिले ३ करोड ९ लाखमा टेण्डर स्वीकृत गरेको छ। उच्च दरमा टेण्डर स्वीकृत भएपछि बाँकी रकम कताबाट व्यवस्थापन गर्ने भन्ने बारेमा बहस हुन थालेको छ। अहिलेसम्म १ करोड ३२ लाख पेस्की लिइसकेको छ। साना जलविद्युत उपभोक्ता समितिले टेण्डर अनुसारको थप दिनुपर्ने रकम १५ लाख प्रमुख जिल्ला अधिकारीको रोहवरमा दिइसकेको छ।

तीन लाख काम गर्ने शिलशिलामा खर्च भइसकेको छ। अध्यक्ष बुढ्थापाले भने,“ठेकेदारले ठग्ने नियतले काम गरेको जस्तो छ। जिल्ला समन्वय समितिले मर्मतको काम अघि नबढे कालोसुचीमा राख्नको लागि प्रक्रिया अघि बढाउने भनेपछि बल्ल अहिले काम गर्न ठेकेदार कम्पनी तयार भएको छ।”

भारतिय दुतावासका सहायक सेक्सन अधिकृत मृगेन्द्रलाल जुम्लामा पुगेर कामको प्रगति बिवरण बुझेका छन्। उनले भने,“सम्झौताका कागजात हेर्नुका साथै खरिद हुनुपर्ने उपकरणका लागि अनुमगन गरेका छन्। उनका अनुसार सम्झौताको कागज अनुसारको सामान छैन्। एक पटक जिल्ला समन्वय समितिसँग भएको ठेक्का सम्झौताको कागजबीच तुलना गर्नु पर्ने बताए।’ 

जिल्ला समन्वय अधिकारी हरीप्रसाद घिमिरेले पहिलो किस्ता स्वरुप रकम उपलव्ध गराईसकेको जानकारी दिए। उनले भने,“अब मर्मतको काम सकाएपछि कार्य सम्पन्नको प्रतिवेदन भारतीय राजदुतावासमा पठाएपछि थप निकासा आउने भएकोले अहिले दिन सकिने अवस्था छैन्।” ठेकेदारले नियमित रुपमा ईमान्दार पुर्वक काम सकाएको खण्डमा प्रक्रिया निकै छिटो हुने उनको तर्क छ।

प्रकाशित: ६ माघ २०७५ १०:०८ आइतबार

जुम्ला भारतीय_ठेकेदार लापरवाही जलविद्युत अध्याँरो