समाज

वन गस्तिमा कमी आएपछि काठ तस्करी बढयो

जंगलसैया रेन्जपोष्ट अन्तर्गतको जंगलबाट तस्करीको काठ सशस्त्र प्रहरीले बरामद गरेको अवस्थामा । तस्बिर : मदन / रौतहट

रौतहट – रौतहटको राष्ट्रिय वन क्षेत्रबाट व्यापक रुपमा काठ तस्करी भइरहेको पाइएको छ। अत्याधिक चिसोले बाक्लो हुँस्सु लागेको कारण सशस्त्र वन रक्षकहरुले गस्ति गर्न छाडेपछि काठ तस्करीमा वृद्धि भएको पाइएको छ।

साँझ हुना साथ वन क्षेत्रमा लाग्ने गरेको बाक्लो हुस्सुको कारण सशस्त्र वन रक्षकहरुले गस्तिमा कमी गरेपछि अवैध रुपमा काठ तस्करी गर्न पल्केका तस्करहरु उक्त मौकाको फाइदा उठाउँदै जिल्लाको वन क्षेत्रबाट बहुमुल्य काठहरु कटान गरी सिमावर्ती बारा तथा रौतहटका विभिन्न क्षेत्रमा लगिरहेको स्थानीयहरु बताउँछन्। 

इलाका वन कार्यालय जंगलशैया रेन्जपोस्ट अन्तर्गत पर्ने विपि पुष्पलाल सामुदायिक वन क्षेत्रबाट काठ तस्करले ठुलो परिमाणमा रुख ढालेर टायर गाडामा लोड गरिरहेको अवस्थामा सशस्त्र प्रहरी वेस क्याम्प विजयपुर लक्ष्मीनियाले बरामद गरेपछि वन तस्करीको पुष्टि भएको हो।

तस्करहरुले वन क्षेत्रबाट ठुलो रुख कटान गरी टायर गाडामा ल्याउदै गरेको स्थानीयले दिइएको सुचनाको आधारमा सशस्त्र वेस क्याम्प लक्ष्मिनियाको टोलिले आइतबार बिहान साढे ४ बजेको समयमा टायर गाडामा लोड गरेको तिन थान कर्मा प्रजातिको गोलिया काठ एक हल राँगा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीको गस्ति टोलिलाई देखेर तस्करहरुले टायर गाडामा लोड भएको करिब ५७ क्युफिट काठ, एक हल राँगा छोडेर भागेको विजयपुर लक्ष्मीनिया बेस क्याम्पका सशस्त्र प्रहरी निरिक्षक विष्णु अधिकारीले बताएका छन् । बाक्लो हुस्सु लागेको कारण तस्करहरु जंगलतर्फ भागेको र पक्राउ परेका काठ र राँगा आवश्यक कारवाहीको लागि चोचा वन सेक्टरको जिम्मा लगाइएको सप्रनि अधिकारीले नागरिकन्युजलाई बताए।

वन क्षेत्रमा ठुलो रुख ढालेर काठ तस्करहरुले मध्य राती टायर गाडा लिएर जाँदै गरेको स्थानीयले दिएको विषेश सुचनाको आधारमा वन क्षेत्रमा जाँदै गरेको अवस्थामा तस्करहरु भाग्न सफल भएकोले उनीहरुको खोजिकार्य भइरहेको सप्रनि अधिकारीले बताए।

गत शुक्रबार जंगलसैया वनबाट तस्करी भएर लैजादै गरेको अवस्थामा कटहरीया नपा भसेढवा टोलबाट ६ थान गोलिया करिब ४२ क्युफिट सालको काठ सशस्त्र प्रहरी र जिल्ला वन कार्यालयको सयुक्त गस्ति टोलिले नियन्त्रणमा लिएको एक दिन बित्न नपाउँदै पुनः काठ पक्राउ परेपछि इलाका वन कार्यालय जंगलशैयाका प्रमुख सहाय वन अधिकृत सोन्फी पासवान सहित अन्य कर्मचारीहरु वन गस्ति गर्न छाडेपछि काठ तस्करीमा बृद्धि भएको पुष्टि भएको श्रोतको भनाइ छ। 

जाडोको कारण वन कर्मचारीहरु वन गस्तिमा कमी गरेको कारण जिल्लाको पश्चिमी भेगमा पर्ने वन क्षेत्रबाट पछिल्लो पटक काठ तस्करी बढेको जिल्ला वन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख विनोद सिंहले स्वीकार गरेका छन्। कर्मचारीहरुले गस्ति नगरेको कारण तस्करी बढेको विषयमा जिल्ला वन कार्यालयले गहन रुपमा अनुसन्धान प्रकृया अगाडि बढाएको र कर्मचारी दोषी भेटिएमा कडा कारवाही गरिने वन प्रमुख सिंहले बताए।

जिल्लाको रंगपुर, धन्सार, बृन्दावन, गैडाटार लगायतका वन क्षेत्रमा व्यापक मात्रामा वन गस्ति भइरहेकोले तस्करी रोकिएको वन प्रमुख सिंहको दावी छ ।

प्रकाशित: ६ माघ २०७५ ०८:५७ आइतबार

रौतहट वन_क्षेत्र काठ_तस्करी