समाज

बस दुर्घटनामा एक जनाको मृत्यु, आधा दर्जन बढी घाइते

तस्बिरः नागरिक

रामेछाप – रामेछापको मन्थली नगरपालिका १ मच्छेडाडीमा ब्रेक फेल भई बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। ओखलढुंगाको घोराखरीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको यातायातको बा४ख ४२१० नम्बरको बस आइतबार अपरान्ह्र दुर्घटनामा परेको हो।

मृत्यु हुनेमा ओखलढुंगा चम्पादेवी गाउँपालिका ६ का ओम कार्की रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा अधिकांश यात्रु घाइते भएका छन्।  खचाखच यात्रु बोकेर हिँडेको बस मच्छेडाडीको ओरालोमा ब्रेक फेल भइ अनियन्त्रित बनेपछि चालकले यात्रु बचाउनका लागि मुख्य सडकबाट शाखा सडकको उकालोबाट गाडी हालेपछि अनियन्त्रित भइ पल्टिएको हो।

बसका चालकले सावधानी नपनाएको भए ठूलै मानविय क्षति हुने घटनास्थलको प्रकृतिले देखाएको छ। घाइतेहरूको सदरमुकाम मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा परी गम्भीर घाइते बनेका आधा दर्जन बढी घाइतेलाई एम्बुलेन्समार्फत काठमाडौं पठाइएको छ। सामान्य अवस्थामा रहेकाको भने मन्थलीमा नै उपचार भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।

प्रकाशित: ६ माघ २०७५ ०८:३९ आइतबार

मन्थली_नगरपालिका ब्रेक_फेल बस_दुर्घटना गम्भीर_घाइते