समाज

ऋतिकको स्मृतिमा अक्षयकोष

ब्लड क्यान्सरका कारण निधन भएका १४ वर्षे बालक ऋतिक घिमिरे। तस्बिर : नागरिक

इलाम – ब्लड क्यान्सरका कारण निधन भएका १४ वर्षे बालक ऋतिक घिमिरेको स्मृतिमा उनको परिवारले अक्षयकोष स्थापना गरेको छ। इलाम नगरपालिका–४, बरबोटेका बालक ऋतिकको गत भदौ ७ मा उपचारक्रममा निधन भएको थियो।

उनको उपचारका लागि उठेको सहयोग रकमबाट स्थानीय सिद्धेश्वरी आधारभूत विद्यालयमा अक्षयकोष स्थापना गरिएको हो। देश–विदेशका सहयोगीहरूबाट उनको उपचारका लागि संकलन भएको १४ लाख ९७ हजार रुपैयाँमध्ये १३ लाख ४७ हजार रुपैयाँ ऋतिककै उपचारमा खर्च भएको थियो।

बाँकी रहेको डेढ लाख रुपैयाँबाट ‘ऋतिक स्मृति अक्षयकोष’ स्थापना गरिएको ऋतिक बचाउ अभियान समितिका संयोजक गोपाल निरौलाले बताए। ‘ऋतिकको समाचार सञ्चारमाध्यममा आएपछि उनको उपचारमा नेपाल मात्र होइन, विदेशबाट समेत सहयोग संकलन भएको थियो,’ उनले भने, ‘सहयोगीहरूले ज्यादै सहानुभूति देखाउनुभएपनि ऋतिकलाई बचाउन चाहिँ सकिएन।’

उपचारका लागि कोरियाका नेपालीहरूबाट ४ लाख, आमेरिकाबाट ३ लाख १७ हजार, काठमाडौंको राजीव फाउन्डेसनबाट १ लाखसहित दुबही, मलेसिया, अस्ट्रेलियालगायत देशमा रहेका नेपालीबाट रकम संकलन भएको उनले जनाए। अक्षयकोषको ब्याज रकमबाट हरेक वर्ष विद्यालयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कृत गरिने ऋतिकका बुबा पूर्ण घिमिरेले जानकारी दिए। ‘ज्यादै फराकिलो मनले देश–विदेशका नेपालीले सकेसम्म सहयोग गरिदिनुभयो, तैपनि छोरो बचाउन सकिएन,’ उनले भने, ‘सहयोग जुटाइदिनुहुने सबैलाई हृदयदेखि धन्यवाद दिन्छु।’

घरको आर्थिक अवस्था अत्यन्त कमजोर भएका ऋतिकको उपचारमा घर–परिवारसमेतले २८ लाख रुपैयाँ खर्च गर्नुपरेको पूर्णले बताए। अस्पतालले ३० लाख रुपैयाँ खर्च गर्दा ऋतिकलाई बचाउन सकिने बताएपनि रकम संकलन भइनसक्दै उनको निधन भएको थियो। गत चैत ८ देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा दिइरहेका बेला अचानक बिरामी भएका ऋतिकले २ विषयको परीक्षासमेत दिन पाएका थिएनन्। उनी सदरमुकामको ज्योति विद्या मन्दिरमा अध्ययनरत थिए।

प्रकाशित: ६ माघ २०७५ ०८:०० आइतबार

ब्लड_क्यान्सर ऋतिक_घिमिरे स्मृति अक्षयकोष