समाज

नर्सिङ संघको विपद् लक्षित एप्स

काठमाडौं – विपद्का समयमा प्रभावकारी रूपमा तथ्यांक संकलन र नर्सिङ सेवा उपलब्ध गराउन नेपाल नर्सिङ संघले मोबाइल एप्स ‘आइसिटी टुलकिट’ कार्यान्वयनमा ल्याउने भएको छ। यसका लागि संघले ‘आइसिटी टुलकिट’ तयार गरी परीक्षण र प्रशिक्षण गर्न थालेको छ। विपद्का समयमा स्वास्थ्यसम्बन्धी जोखिम कम गर्न तथ्याङक संकलन महत्वपूर्ण मानिन्छ। प्राप्त तथ्यांकका आधारमा नर्सिङ सेवा प्रदान गर्न र विपद्का अवस्थामा कसरी सेवा गर्ने भन्ने विषयमा सो टुलकिटले सहयोग पु-याउने संघका उपाध्यक्ष अप्सरा पाण्डेले जनाइन्।

टुलकिट कसरी सञ्चालन गर्ने भन्ने विषयमा संघले आफ्ना सदस्यलाई बुधबारदेखि दुई दिने प्रशिक्षणसमेत दिएको छ। टुलकिटको प्रभावकारिता माथि संघले काठमाडौं, सिन्धुपाल्चोक, कास्की र रुपन्देहीमा परीक्षणसमेत गरिसकेको र भूकम्प अति प्रभावित १४ जिल्लामा दुई सयभन्दा बढीलाई टुलकिट सञ्चालनबारे प्रशिक्षण दिइने जनाइएको छ।

भूकम्पका समयमा प्रभावकारी नर्सिङ सेवा दिएबापत एक अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाले उक्त संघलाई ‘रिस्क अवार्ड २०१७’ प्रदान गरेको थियो। सो पुरस्कारबापत प्राप्त झन्डै एक करोड ३२ लाख विपद् व्यवस्थापन र नर्सिङ सेवाको थप क्षमता वृद्धि गर्न खर्च गरिने संघका उपाध्यक्ष पाण्डेले जानकारी दिइन्। (रासस)

प्रकाशित: ४ माघ २०७५ ०३:५४ शुक्रबार

नेपाल_नर्सिङ_संघ विपद् मोबाइल_एप्स