समाज

सुदूरपश्‍चिममा ब्लड बैंक बनाइने

काठमाडौं – अमेरिकी सरकारले नेपाल सरकार र रेडक्रस सोसाइटीसँग साझेदारी गर्दै कैलालीको धनगढीमा सुदूरपश्चिमकै पहिलो ब्लड बैंक (रक्त सञ्‍चार केन्द्र) भवन निर्माणको शिलान्यास गरेको छ।

अमेरिकी रक्षा मन्त्रालयद्वारा उपलब्ध गराइएको आर्थिक सहयोगमा निर्माण हुने ब्लड बैंकले त्यस क्षेत्रमा लामो समयदेखि आवश्यक रक्त सञ्‍चार सेवा उपलब्ध गराउनेछ। धनगढी तथा सुदूरपश्‍चिमका बासिन्दाको जीवनरक्षा गर्ने रक्त सञ्‍चार सेवाका निम्ति हालसम्म पनि चार घन्टाको सडक यात्रा गरी बाँकेस्थित स्वास्थ्य संस्थामा जानुपर्ने स्थिति छ। नेपालको स्वास्थ्य मन्त्रालयले यसलाई चुनौतीपूर्ण विषयका रूपमा पहिचान गरी यस भवनको निर्माण कार्यका साथै सुदूरपश्‍चिम क्षेत्रभर जीवनरक्षा गर्ने प्रक्रियामा अमेरिकी दूतावाससँग साझेदारी गरेको छ।

ब्लड बैंकले रक्ततत्व उत्पादनलाई भर्नेछ र जटिल रक्त सेवासमेत उपलब्ध गराउनेछ। सुदूरपश्‍चिम क्षेत्र दुर्गम हुनुका साथै त्यहाँ बाढी तथा अन्य विपद्‌को जोखिमसमेत रहेको हुँदा यस्ता आकस्मिक सेवा उपलब्ध गराउनाले समग्र क्षेत्रमा नै ठूलो प्रभाव पर्नेछ। ब्लड बैँकको नयाँ बन्ने भवन भूकम्प प्रतिरोधीसमेत हुनेछ।

प्रकाशित: ४ माघ २०७५ ०२:०१ शुक्रबार

अमेरिकी_सरकार नेपाल_सरकार रेडक्रस_सोसाइटी ब्लड_बैंक रक्त_सञ्‍चार_केन्द्र) भवन_निर्माण