समाज

देशभरका घलेले धादिङमा मनाए ल्होसार

घलेजातीको मुख्य चाड ल्होसारको अवसरमा आयोजित कार्यक्रममा रमाउँदै घलेहरू ।    तस्बिर : सरिता/नागरिक

धादिङ – देश तथा विदेशका विभिन्न ठाउँमा छरिएर रहेका घले समुदायका मानिसहरू धादिङबेसीमा जम्मा भए। हर्षोल्लासका साथ घले ल्होसार मनाए। देशभरका ३६ जिल्ला र विदेशमा रहेका घलेहरू जम्मा भएर धादिङमा मनाए।

देशभरी छरिएर रहेका घले जातीको हक हित र जातीय पहिचान संरक्षणका निम्ति स्थापना भएको लिःल फङ (घले समाज) को आयोजनामा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। ‘ल्हो’ भनेको वर्ग र ‘सर’ भनेको नयाँ हो। १२ वटा वर्गचक्र घुमिरहने भएकाले हरेक वर्ष माघ १ गते सर्ने र यसलाई घले समुदायले नयाँ वर्षको स्वागतको रुपमा मनाउने गरिएको लिःल फङ घले समाजका केन्द्रीय अध्यक्ष दिनेश घलेले बताए।

‘घले जातिको आफ्नै भाषा, भेषभुषा र सँस्कृति रहेको छ’, अध्यक्ष घलेले भने, ‘अघिल्लो वर्षमा भएका नराम्रा विषयलाई भुलेर आगामी नयाँ वर्षमा नयाँ काम गर्ने अवसरको रुपमा घलेहरुले यो पर्व मनाउने गरेका छन्।’ बाइसे चौबिसे राज्यको पालामा नेपालको आदिम भूमिमा राज्य चलाएर बसेका घलेहरू अतिखेर आफ्नो अधिकार र पहिचानको खोजीमा जुटेका छन्।  च्य–ल्हो (चरा वर्ग) को विदाई गरी खि–ल्हो (कुकुर वर्ग) को स्वागतका लागि हरेक वर्ष ल्होसार कार्यक्रमको आयोजना गरिने गर्दछ।

गत वर्ष लमजुङमा कार्यक्रमको आयोजना गरिएको थियो। हरेक वर्ष फरक फरक जिल्लामा भेला भएर ल्होसार मनाइने गरेको घलेको भनाई छ। धादिङमा पनि बाइसे चौबिसे राज्यकालमा केही ठाउँमा घलेहरूले शासन गरेको इतिहास छ। देशका सबै जिल्लामा बसोबास रहेको घलेहरूको जनसंख्या झण्डै ४ लाख ५० हजार रहेका छन्।

नेपाल एकिकरण हुनु पूर्व अहिलेको चार नम्बर प्रदेशको मध्य तथा हिमाली पहाडी क्षेत्रमा बसोबास रहेको घलेहरूले विभिन्न स्थानमा राज्य संचालन गरेको इतिहास रहेको घले समाज धादिङका अध्यक्ष एवम् पुर्व सभासद् धनबहादुर घलेले बताए। घलेहरूले धादिङ, लमजुङ, गोरखा, नुवाकोट, रसुवा लगायतका ठाउँहरूमा राज गरेर देशलाई योगदान पुर्याएका थिए, घलेले भने,‘आफ्नो पहिचान र संस्कृति संरक्षणका लागि अहिले ती जिल्लाका घलेहरु एकजुट भएका छौँ।’  घलेहरूले परापुर्व कालदेखि ल्होसार मनाउँदै आएको भएपनि २०६५ सालमा लिःल फङ (घले समाज) स्थापना भएपछि संस्थागत रुपमा ल्होसार मनाउन थालिएको हो।

लामो समय सम्म काठमाडौंमा मनाइने गरिएको ल्होसार २०७३ सालमा गोरखाको बारपाकमा, २०७४ सालमा घले जातीको उद्गमस्थल मानिएको लमजुङको बेशीशहरमा मनाइएको थियो। यो वर्षको ल्होसारमा खील्हो अर्थात कुकुर वर्गलाई विदाई गरी फाल्हो अर्थात मृग वर्गलाई स्वागत गरिएको छ। कार्यक्रममा देश तथा विदेशमा रहेका १० हजार भन्दा बढी घलेहरूले उपस्थिति रहेको थियो। 

कार्यक्रममा लिःल (घले) जातिको जातिय एकतालाई नै विशेष जोड दिइने जातिय चिनारी तथा पहिचान झल्काउने विविध नृत्य तथा साँगितिक प्रस्तुतीहरू रहेका थिए। कार्यक्रममा चौरी नाच, घोडाचडी नाच, लामा नाच लगायतका नाच प्रर्दशनी गरिएको थियो। घलेहरू नेपालको ३६ ओटा जिल्लामा छरिएर बसेको छन्। हरेक जिल्लामा रहेका घलेहरुको आफ्नै मौलिक खानपिन, जातीय पहिरन, संस्कृति तथा बाँजागाजाँहरू छन्। कुल पुजा तथा अन्य पुजा आर्ज गर्दा भेडा, परेवा अनि हासको प्रयोग गर्ने गर्छन्। 

प्रकाशित: ३ माघ २०७५ ०९:०५ बिहीबार

घले_समुदाय ल्होसार धादिङबेसी