समाज

चार वर्षदेखि बेपत्ता बालक फेला

बाल हेल्पलाईनका संयोजक खतिवडा बालकको पुनर्मिलन गराउँदै ।    तस्बिरः महेश्वर/नागरिक

उदयपुर – उदयपुरमा सञ्चालित बाल हेल्पलाइनको सहयोगमा ४ वर्षदेखि बेपत्ता बालकको पारिवारिक पुनर्मिलन भएको छ। त्रियुगा नगपालिका ५ दमौतीका १५ वर्षीय बालक विजयकुमार योगी बेपत्ता भएको ४ वर्षपछि भारतको दरभंगाबाट फेला पारी हेल्पलाइनले नेपाल ल्याएको हो।

४ वर्षयता गाईघाटस्थित नेस्पेक उदयपुरले बाल हेल्पलाइनमार्फत हराएका तथा आपतविपतमा परेका बालबालिकाको उद्धार, उपचार तथा व्यवस्थापन र पुनर्मिलन गराउँदै आएको छ। यसै क्रममा ३ महिनाअघि दरभंगास्थित रेलवेस्टेशनमा बेवारिसे अवस्थामा भेटिएका योगीको विषयमा हेल्पलाइनमा खवर आएपछि उद्धार गरिएको नेस्पकेका महासचिव अर्जुन पोखरेलले बताए।

उनका अनुसार रेलवेस्टेशनमा अलपत्र परेको बालक नेपाली भएको भन्ने खवर आएपछि सोधीखोजी गरी उद्धार गर्दा त्रिनपा ५ को स्थायी बासिन्दा भएको खुलेपछि नेपाल ल्याइएको हो। उनलाई हेल्पलाइनले उदयपुर प्रहरी, जिल्ला प्रशासन कार्यालय उदयपुर र केन्द्रीय बालकल्याण समितिको सहयोग नेपाल ल्याइएको पोखरेलले बताए।

माघ १ गते साँझ योगीलाई परिवारको जिम्मा लगाइएको छ। घरमा राख्ने वातावरण नभएकाले बालकलाई उदयपुरगढी गाउँपालिका ५ स्थित मामाघर लगेर आमा र हजुरवाको जिम्मा दिइएको नेस्पकेका बाल हेल्पलाइन परियोजना संयोजक शिरोमणी खतिवडाले बताए। वर्षौंदेखि बेपत्ता भएका बालकका बाबु हालसम्म सम्पर्कविहीन भएको मामली हजुरवालाई उद्धृत गर्दै हेल्पलाइनले जनाएको छ। बालक किन र के कारण भारत पुगे भन्ने पनि खुल्न नसकेको खतिवडाले बताएका छन्।

प्रकाशित: ३ माघ २०७५ ०८:४७ बिहीबार

बाल_हेल्पलाइन बेपत्ता_बालक विजयकुमार_योगी पारिवारिक_पुनर्मिलन