समाज

धरान–चतरा–सिन्धुली–हेटौंडा सडक निर्माण धमाधम

क्याप्सनः २. मदन भण्डारी राजमार्गको पश्चिम खण्डअन्तर्गत सिन्धुलीको मरिण गाँउपालिकाको कपिलाकोटमा बनाइँदै गरेको पुल। तस्बिरः अनिल/नागरिक

सिन्धुली - धरान—चतरा—सिन्धुली—हेटौंडा सडक निर्माण तीव्र गतिमा हुन थालेको छ। सरकारको प्राथमिकतामा परेको उक्त मदन भण्डारी राजमार्ग निर्माणले पछिल्लो समय गति लिएको हो। राजमार्गका पूर्वी र पश्चिम दुवै खण्डमा अहिले सडक तथा पुल बनाउने काम धमाधम भइरहेका छन्।

सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोड्ने उक्त सडक पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा हेरिएको छ। पुल र सडक निर्माण गरी झन्डै ४५ प्रतिशत काम सकिएको सडक आयोजनाले जनाएको छ। सडकको तुलनामा पुल निर्माण धेरै अगाडि बढेको छ। पूर्व र पश्चिम दुई खण्डमा विभाजन गरी उक्त राजमार्ग निर्माण भइरहेको छ। दुवै खण्डमा सडक, पुल, कजवे, ह्युम पाइप, बक्स तथा स्ल्याब कल्भर्ट लगायतका संरचना निर्माण धमाधम भइरहेको आयोजनाले जानकारी दिएको छ।

सडक निर्माण आयोजना पश्चिम खण्डका इन्जिनियर सजग थापाका अनुसार सिन्धुलीको कमलामाई नगरपालिकाको भीमानदेखि मकवनपुरको हेडौंडा महानगरपालिका–६, चौगडासम्म कुल १ सय १५ किलोमिटर सडकमा धमाधम काम भइरहेको छ। ‘पछिल्लो समय काम निकै अगाडि बढेको छ,’ उनले भने, ‘४५ प्रतिशतभन्दा बढी काम भइसकेको छ। सडक निर्माणतर्फ करिब ३५ प्रतिशत र पुलतर्फ झन्डै ६० प्रतिशत काम भइसकेको छ।’ बागमती नदीदेखि मकवानपुरको फापरबारी छतिवनसम्म १० किलोमिटर कालोपत्रे नै भइसकेको छ। इन्जिनियर थापाका अनुसार सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका क्षेत्रमा पर्ने सडकमा पनि कालोपत्रे गर्ने तयारी हुँदैछ। ‘हामी धमाधम सब–बेसको काम गरिरहेका छौं,’ उनले नागरिकसँग भने, ‘केही महिनामै कालोपत्रे सुरु हुन्छ।’

राजमार्गको पूर्वी खण्डमा पनि सब–बेसकै काम भइरहेको धरान–चतरा–सिन्धुली–हेटौंडा सडक पूर्वी खण्डका इन्जिनियर गोविन्द दुमरुले जानकारी दिए। ‘सडकको ग्रेड मिलान गरी सब–बेस हाल्ने काम भइरहेको छ,’ उनले भने, ‘कालोपत्रे तत्कालै हुन्छ भन्न त सकिँदैन तर काम तीव्र गतिमै भइरहेको छ।’ माटो काटेर ग्रेड मिलाउनुपर्ने क्षेत्र धेरै नभएकाले ग्राभेल हाल्नुअघि सब–बेस राख्ने काम धमाधम भइरहेको इन्जिनियर दुरुमले बताए।

सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यकाहरू जोड्ने उक्त सडक पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा हेरिएको छ। पुल र सडक निर्माण गरी झन्डै ४५ प्रतिशत काम सकिएको सडक आयोजनाले जनाएको छ।

‘यस वर्ष ५० किलोमिटर काम गर्ने लक्ष्य लिएका छाैँ,’ उनले भने, ‘सडकको ४५ प्रतिशत र पुलको ६५ प्रतिशत काम पूरा भइसकेको छ। पूर्वी खण्डमा उदयपुरको बसाहादेखि सिन्धुलीको भीमानसम्म १ सय ३४ किलोमिटर सडक पर्छ। उक्त क्षेत्रमा बेस हाल्ने तथा सब–बेस हाल्ने काम धमाधम भइरहेको आयोजनाका पूर्वीखण्ड प्रमुख ललितजङ खनालले जानकारी दिए। उनका अनुसार सडक निर्माण लक्ष्य अनुसार नै अगाडि बढिरहेको छ।

राजमार्गको पश्चिम खण्डअन्र्तगत सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका क्षेत्रमा कालोपत्रे तयारी अन्तिम चरणमा पुगेको पश्चिम खण्ड आयोजना प्रमुख कर्ण रानाभाटले जानकारी दिए। ‘सिन्धुली खण्डमै ३० किलोमिटरमा अबको डेढ महिनापछि कालोपत्रे सुरु हुन्छ,’ उनले नागरिकसँग भने, ‘त्यहाँ हामीले बेस हाल्ने काम गरिरहेका छौं।’ राजमार्ग निर्माण लक्ष्य अनुसार नै भइरहेको भन्दै उनले पुल निर्माणतर्फ ६० प्रतिशत र सडकतर्फ ३५ प्रतिशत काम सकिएको बताए।

पश्चिम खण्डको १ सय १५ किलोमिटरमा ३३ वटा पुल, ५७ स्थानमा कजवे, ३ सय ९७ वटा ह्युम पाइप, १९ वटा बक्स कल्भर्ट, ४ वटा स्ल्याब कल्भर्ट रहने आयोजनाले जनाएको छ। तीन वर्षमा पूरा गर्ने लक्ष्य राखिएको उक्त राजमार्ग निर्माणको जिम्मा पश्चिम खण्डतर्फ कालिका, स्वच्छन्द, रकेन जेभी र पूर्वी खण्डतर्फ जेट आइइसी शर्मा एन्ड लामा जेभीले लिएको छ। एघार मिटर चौडाइको उक्त सडक दुई पत्रमा पिच हुनेछ। पहिलो लेयरमा ११ मिटर चौडाइमै र दोस्रो लेयरमा त्यसमाथि सात मिटर चौडाइमा पिच हुने जनाइएको छ। सडक निर्माण सन्तोषजनक ढंगले अगाडि बढेको स्थानीय जनप्रतिनिधि बताउँछन्। ‘पहिलेको तुलनामा सिन्धुलीका अधिकांश क्षेत्रमा धमाधम काम भइरहेको देखिन्छ,’ दुधौली नगरपालिकाका प्रवक्ता रितेश राउतले भने, ‘सडक निर्माणले गति लिएको छ।’

प्रकाशित: १ माघ २०७५ ०३:५० मंगलबार

धरान—चतरा—सिन्धुली—हेटौंडा_सडक निर्माण सरकार मदन_भण्डारी_राजमार्ग