समाज

स्वयम्भू पुजारी आवासगृह पूनर्निर्माण सुरु

गृहमन्त्री थापाले स्वयम्भू पुजारी आवास गृह तथा विहार पूनर्निर्माणको शिलान्यास गर्दै। तस्बिर : श्याम/ नागरिक

काठमाडौं – भूकम्प गएको चार वर्ष पुग्नै लाग्दा स्वयम्भूको पुजारी आवास गृह तथा विहारहरुको पूनर्निर्माण सुरु भएको छ। गृहमन्त्री रामबहादुर थापाले सोमबार उक्त आवासगृहको शिलान्यास गरेका हुन्। मन्त्री थापाले स्वयम्वू विश्व सम्पदामा सूचीकृत भएकाले पूनर्निर्माणको लागि संघीय सरकारबाट पूर्ण सहयोग हुने बताए। ‘भूकम्पले सांस्कृतिक मठमन्दिरहरु भत्काएको छ,’ उनले भने, ‘यी हाम्रा ऐतिहासिक सम्पदा हुन्। पूनर्निर्माणका लागि हामी सधैं सहयोग गर्न तत्पर छौं।’ सम्पदा पूनर्निर्माणमा ढिलाइ भए पनि सरकारले यसलाई प्राथमिकतामा राख्दै आएको बताउँदै स्वयम्भूमा रहेका स्तुप, विहार, मन्दिरको अवलोकन पनि गरेका थिए।

लामो समयको प्रतीक्षापछि आवासगृहको शिलान्यास गरिएकाले यसको पूनर्निर्माणमा कुनै बाधाअवरोध नहुने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्ले बताए। ‘निर्माणको प्रक्रियाको लागि ढेड वर्ष समय लाग्यो,’ उनले भने, ‘अब बिनाअवरोध काम अगाडी बढ्छ।’ ऐतिहासिक महत्वका सम्पदा पूनर्निर्माणको लागि महानगरमा बजेट भए पनि निर्माणको लागि सबैले चासो नदेखाएको उनले बताए। ‘पूनर्निर्माणको लागि २०÷२५ करोड लगानी गर्न महानगर तयार छ,’ उनले भने, ‘तर, काम गर्छु भनेर कोही जिम्मेवारी सम्हाल्ने मान्छेहरु आउँदैनन्। आएपनि समयभित्र काम सम्पन्न गर्दैनन्।’
काठमाडौं महानगरपालिका वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले पुजारीलाई बस्न अप्ठ्यारो भएकाले समयसीमाभित्र आवास गृह र विहारहरु पूनर्निर्माण सम्पन्न गरिने बताए। ‘पुरातत्व विभागले नक्सा पासको स्वीकृति दिइसकेको छ, अब कुनै बाधा हँुदैन।’ उनका अनुसार उक्त आवासगृह निर्माणको लागि १८ करोड लाग्ने अनुमान छ।

प्रकाशित: १ माघ २०७५ ०३:०३ मंगलबार

भूकम्प गृहमन्त्री_रामबहादुर_थापा स्वयम्भू आवासगृह शिलान्यास सम्पदा