समाज

बम्जन बारामा हुँदा पनि विवादित

फाइल तस्बिर

बारा - रामबहादुर बम्जन हलखोरिया वन क्षेत्रमा बस्दा पनि विवादमा परेको खुलासा भएको छ। २०६३ देखि २०७० सालसम्म हलखोरियाको वनमा नमोबुद्ध तपोवन आश्रम सञ्चालन गरेर बम्जन बसेका थिए। त्यहाँ बस्दा उनी र अनुयायीहरूले मानिस बन्धक बनाएको, स्थानीयमाथि हातपात गरेको भन्ने आरोप थियो। उनले वनको जग्गा आश्रमको नाममा गराउन चलखेल गरेको पनि खुल्न आएको छ।

नमोबुद्ध तपोवन आश्रममा अध्यक्ष रहिसकेका वेदबहादुर थिगले अनुमतिबिना आश्रममा प्रवेश गरेका केही स्थानीयलाई डर देखाउन भन्दै अनुयायीहरूले सामान्य कुटपिट गरेको स्वीकार गरे। आफू पाँच वर्षसम्म आश्रमको अध्यक्ष रहँदा केही विवादित घटना सार्वजनिक भएको उनले बताए। ‘रतनपुरी जंगलमा २०६२ जेठमा तपस्या थाल्दा बम्जनको उमेर १४ वर्ष मात्र रहेको उनको भनाइ छ। ‘उमेर बढ्दै जाँदा उनी र उनका अनुयायीहरू विभिन्न विवादमा जोडिँदै आए,’ उनले भने। आफूले अध्यक्ष पद छाडेलगत्तै बम्जनमाथि स्लोभाकियाकी मारेची नामकी एक महिलालाई बन्धक बनाएको, पटकपटक स्थानीयमाथि कुटपिट गरेको र हालसालै एक युवक बेपत्ता बनाएको घटना सार्वजनिक भए पनि त्यसको सत्यतथ्य बुझ्नुपर्नेमा जोड दिए। आश्रम क्षेत्रमा पुगेका रतनपुरीका अनिल गुरागाइ नाम गरेका युवकमाथि तरबार प्रहार गरेको, मनहर्वा चौधरी टोलका प्रदेशी चौधरी, प्रह्लाद चौधरीलगायत एक दर्जनलाई निर्घात कुटपिट गरेको आरोप बम्जनमाथि लागेको थियो। जंगली फल टिप्ने क्रममा हलखोरियाको जंगलमा पुग्दा आफूहरूमाथि कुटपिट गरिएको र जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिँदा पनि कारबाही नगरिएको भन्दै प्रह्लादले दुखेसो पोखे।

यसका साथै बम्जनले दोहोरो नागरिकता बनाउन दिलकुमारी बम्जन भनिने माया तामाङ र वीरबहादुर बम्जनको नागरिकतासमेत नियन्त्रणमा लिएको र रातो पासपोर्टका लागि अनुयायीहरूलाई उचालेर पूर्व–पश्चिम राजमार्गको पसाह पुलनजिक क्षेत्र बन्दसमेत गराएका थिए। धर्मका नाममा विवादित गतिविधि गर्दै आए पनि बम्जनलाई बारा प्रहरीले कारबाही गर्नुको सट्टा छाड्दै आएको स्थानीयको भनाइ छ।

बम्जनले हलखोरियाको राष्ट्रिय वनमा हजार बिघाभन्दा बढी क्षेत्रफल जबर्जस्ती नियन्त्रणमा लिएर आश्रम सञ्चालन गरेको पनि खुल्न आएको छ। राष्ट्रिय वनको ठूलो क्षेत्रफल आश्रमका नाममा गराउन चलखेल थालेपछि र आपराधिक गतिविधि हुन थालेको आशंकापछि बम्जन र उनका अनुयायीहरूलाई त्यहाँबाट हटाइएको जिल्ला वन कार्यालय बाराले जनाएको छ। जिल्ला वन कार्यालय बाराका तत्कालीन प्रमुख रामानन्द साहले स्थानीय प्रहरी प्रशासनको सहयोगमा आश्रम हटाएको वन कार्यालय प्रमुख शिवशंकर ठाकुरले बताए।

आफ्ना छोरा सुरेशकुमार आलेमगरलाई बेपत्ता बनाएको भन्दै अहिले बम्जन र उनका सहयोगीविरुद्ध बुवा हस्तबहादुर आलेमगरले उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। २०७० सालतिर अनुयायी बनाउन भन्दै बम्जनका सहयोगी जसबहादुर वाइबाले घरबाट छोरालाई बोलाएर लगेको र पछि बेपत्ता बनाएको हस्तबहादुरको आरोप छ। ‘२०७२ जेठ पहिलो साता घरमा आएर फर्केदेखि छोरा सम्पर्कविहीन छ,’ उनले भने, ‘छोराबारे बुझ्न जाँदा बम्जनले अनेक बहाना गर्दै आएका छन्।’

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख रहेका प्रहरी उपरीक्षक सानुराम भट्टराईले बम्जनले हालखोरियाको आश्रममा बस्दा गरेका अधिकांश गतिविधिबारे अनुसन्धान थालिएको बताए। बम्जन र उनका अनुयायीहरूले घटाएका कतिपय घटनाको उजुरी प्रहरीमा परेको कतिपय कतिपयको कुनै रेकर्ड नरहेको उनले बताए। दुई साताअघि मात्रै विगत तीन वर्षदेखि छोरालाई सम्पर्कविहीन बनाएको भन्दै मनहर्वाका स्थानीयबाट पनि उजुरी आएको र त्यस सम्बन्धमा पनि अनुसन्धान सुरु गरिएको उनले बताए।

प्रकाशित: १ माघ २०७५ ०२:५० मंगलबार

रामबहादुर_बम्जन वन अनुयायी विवादित