समाज

पश्चिम तराईमा माघी रौनक

लठवा नाच नाच्दै थारू कलाकार । तस्बिर : योगेश रावल/नागरिक

नेपालगन्ज - पुस लाग्नेबित्तिकै माघीको त्रासदीले सताउन थाल्थ्यो। माघी उत्सव होइन, अभिशाप बनेर आइदिन्थ्यो। चाहना मुक्तिको थियो तर ‘कमलरी’ दासताको म्याद माघीले थपिदिन्थ्यो। प्रदेश ५ की उपसभामुख पूर्वकमलरी कृष्णी चौधरी भन्छिन्, ‘उतिबेला माघी उत्सव होइन, अभिशाप बन्थ्यो।’ सात वर्षको कलिलो उमेरदेखि कमलरी दासतामा बाँधिनुपर्दा माघीको रौनक कहिल्यै आउन दिएन उनलाई। वर्ष दिनको सय रुपैयाँ ज्याला र एकसरो लुगामा उनले डेढ दशक माघी मालिकसँगको सम्झौतामै बिताइन्। छिमेकका ‘हुनेखाने’ ले माघीलाई नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउँथे। तर, कृष्णीका घरमा भने साहु र उनका परिवारबीच चल्ने मोलमोलाइले कमलरी दासताको नयाँ अध्याय सुरु हुन्थ्यो।

‘कहाँ जाने ? कसको घरमा जाने ? साहु आएर मोलमोलाइ गर्थे’, उनले भनिन्, ‘माघी त किन आएको होला भन्ने लाग्थ्यो। माघ १ गते साहुले घरबिदा दिन्थे। २ गतेदेखि नयाँ साहु चयन हुन्थे। अनि ३ गते नै साहुको घर सोझिनुपथ्र्यो। सयपचास र लुगाफाटो जसले बढी दिन्थ्यो, उसैको घरमा जानुपर्थ्याे यो।’

बर्दियामा रहेको अतिविपन्न परिवार। कृष्णीका पाँच दिदीबहिनी, सबै मालिकको घरमा कमलरी थिए। विपन्नताको सिकार बनेको उनको परिवारले चाहन्थ्यो, ‘साहुको घरमा कमलरी बसेपछि कमसेकम खान त पाउँछन्।’ बर्दियाका एक सरकारी हाकिमको घरबाट सुरु भएको कृष्णीको कमलरी जीवन नौ वर्षसम्म चल्यो। ‘अरू जाति मात्रै होइन, थारूकै घरमा पनि कमलरी बसें’, उनले भनिन्। १६ वर्षको उमेरमा उनको विवाह भयो। दासतामा बाल्यकाल पूरा गरेकी उनी गाउँकै कमैया परिवारमा बुहारी बनेर भित्रिइन्। विवाह गरेपछि यो दासताबाट मुक्ति मिल्ने आशा थियो। विवाहपछि पनि उही नियति ‘कमलरी दासता।’

‘कहाँ जाने ? कसको घरमा जाने ? साहु आएर मोलमोलाइ गर्थे। माघी किन आएको होला भन्ने लाग्थ्यो। माघ १ गते साहुले घरबिदा दिन्थे। २ गतेदेखि नयाँ साहु चयन हुन्थे। ३ गते साहुको घर सोझिनुपथ्र्यो। सयपचास र लुगाफाटो जसले बढी दिन्थ्यो, उसैको घरमा जानुपथ्र्यो।’ –उपसभामुख कृष्णी चौधरी

उनका पति कृष्ण थारू कमैया थिए। ज्याला पतिको मात्रै तोकिएको थियो। त्यही ज्यालामा कृष्णी कमलरी बनिन्। ‘महिलालाई दइन्नथ्यो’, उनले भनिन्, ‘पतिकै ज्यालामा मैले काम गर्नुपथ्र्यो।’ विवाहपछिका सात वर्षमा आएका माघी पर्व पनि उसै गरी मालिकसँगको सम्झौतामा बिते। २०५७ मा कमैया मुक्ति आन्दोलन चल्यो। उनीहरू मुक्त भए। ‘कमैया मुक्ति घोषणापछि हामीलाई साहुले जा भनेर पठाइदिए’, उनले भनिन्, ‘कहाँ जाने ? बस्ने घर थिएन।’
कमैया र कमलरी मुक्तिबारेमा चर्का बहस हुन थाले। त्यसको नेतृत्व कृष्णीले लिइन्। यस बीचमा उनलाई आलोचना गर्नेहरूको ताँती लाग्यो। तथापि उनी विचलित भइनन्। मुक्त कमैया समाजको बर्दिया जिल्ला उपाध्यक्ष हुँदै उनी केन्द्रीय सदस्य बनिन्। पुरुष र महिलाबीचको विभेदले उनलाई कमलरी मुक्ति आन्दोलनमा केही असहज महसुस भयो। उनकै नेतृत्वमा कमैया महिला जागरुक समाज गठन भयो। अधिकार प्राप्तिका लागि बनेका यस्ता अभियानको नेतृत्व लिने क्रममा उनी पार्टी राजनीतिमा आबद्ध भइन्। तत्कालीन एमाले राजनीतिमा प्रवेशसँगै उनलाई महिला अधिकारका पक्षमा आवाज उठाउन अझ सहज भयो। गत प्रदेशसभा निर्वाचनमा उनी निर्वाचित भइन्। उनी अहिले प्रदेशसभाको उपसभामुख पदमा आसीन छिन्।

विगतको कालो इतिहास, अहिलेको उच्च ओहदाको आसन। तथापि विगतका माघीलाई भुल्न सजिलो छैन उनलाई। ‘मालिकको घरको भुइँमा सुतेको गनाउँछेस् भनेर बिहानै नुहाउन पठाएको, अरूले फालेको खाना खाएको तितो पल अहिले पनि ताजै छन्,’ उनले भनिन्, ‘नयाँ मालिकसँगको दासता सम्झौता भएको क्षण भुल्न पाए आनन्द हुन्थ्यो भैंm लाग्छ।’ उनी अहिले माघीका अवसरमा हुने विभिन्न कार्यक्रममा सहभागी छिन्। माघीलाई सद्भाव जोड्ने पर्वका रूपमा उनले बुझेकी छिन्।

प्रतिनिधिसभा सदस्य तथा नेकपा नेतृ शान्ता चौधरीलाई पनि माघीमा साहुको घरबाट मिल्ने छुटकाराले औधी खुसी बनाउँथ्यो। तर, यो खुसी दुई दिनसम्म टिक्नै पाउँदैनथ्यो। माघकै दिनदेखि घरमा बैना बुझाउन मालिकहरूको ओइरो लाग्थ्यो। माघको भोलिपल्टै कुनै एक साहुको घरमा कमलरी दासताको म्याद एक वर्षका लागि थपिन्थ्यो। ‘माघ १ गते स्वतन्त्र हुन पाउँथें, त्यो एक दिन पनि जीवनभर स्वतन्त्र भएजस्तो लाग्थ्यो’, उनले भनिन्, ‘२ गते स्वतन्त्रता खोसिन्थ्यो, दासताको म्याद एक वर्षका लागि थपिन्थ्यो।’ घोराही रामपुरकी उनको जीवन आठ वर्षको कलिलो उमेरदेखि नै दासतामा होमियो। उनको बाल्यावस्था र बैंस दासतामै बित्यो। न त विवाहपछि उनले यो दासताबाट मुक्ति पाइन्।

शान्ता २०६३ मा चलेको कमलरी मुक्तिको अभियानमा सहभागी भइन्। अभियानको नेतृत्व उनले नै गरिन्। अभियानले सफलता पायो। अभियानसँगै उनी तत्कालीन एमालेको राजनीतिमा होमिइन्। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा उनी समानुपातिक सांसद चुनिइन्। २०७० को संविधानसभा निर्वाचनमा पराजित भएकी उनी अहिले प्रतिनिधिसभा सदस्य एवम् नेकपाकी सचेतकसमेत हुन्।

कमलरी उन्मूलन मात्रै होइन, सदीयौंदेखि साहुको ‘बँधुवा’ (कमैया) का रूपमा रहेका थारू समुदायमा ठूलो परिवर्तन भएको छ। थारू अगुवाका अनुसार सात दशकअघिसम्म थारूहरूमा आत्मनिर्णयको अधिकार थिएन। जमिन जोताहा उनीहरू शासकहरूकै शासनमा बाँधिनुपथ्र्यो। उनीहरूको आफ्नो घर हुँदैनथ्यो। उनीहरू साहुले दिने सानो गोठ वा कटेरोमा जीवन निर्वाह गर्थे। थारू बस्तीमा त्यसताकाका माघी उत्सव बन्दैनथ्यो। उनीहरू साहुसँगको ‘बार्गेनिङ’ मा व्यस्त हुन्थे। दाङका थारू अगुवा रामप्रसाद चौधरी भन्छन्, ‘माघी मानिसकेपछि साहुको घरमा काम गर्न जानुपथ्र्यो।’

थारूहरूको माघी अहिले बेग्लै बन्दै गएको छ। बस्तीमा नयाँनयाँ विकासे योजना बुनिन्छन्। ‘गाउँमा कुुलो पानी, सडक मर्मतजस्ता विकासका अजेन्डा तय गरेर विकास निर्माणको काम गर्छौं,’ चौधरीले भने, ‘अचेलका माघीमा कमैया बस्ने, कमलरी बस्ने विषयमा छलफलै हुँदैनन्।’ केन्द्रीय तथ्यांक विभागका अनुसार देशभर थारूको जनसंख्या १८ लाख हाराहारीमा छ। तर, थारू अगुवाहरूले तयार गरेको तथ्यांकअनुसार देशभरको थारूहरूको संख्या २५ लाखको हाराहारीमा छ।

योजना छनोटको वर्ष
निकै हर्षोल्लाससाथ थारू समुदायले मनाउने माघ १ अर्थात् माघी पर्व उनीहरूले रमाइलोमा मात्रै सीमित राख्दैनन्। माघी उनीहरूका लागि योजना बुन्ने अवसरसमेत बन्ने गरेको छ। यो उनीहरूको नयाँ वर्षसमेत हो। यस पर्वमा थारू समुदायले वर्षभरि बस्तीमा भएका कार्यको समीक्षा गर्दै आगामी वर्षको नयाँ रणनीति तय गर्छन्। यस्ता योजना बस्ती विकाससँग मात्रै सम्बन्धित हुँदैनन्। बस्तीका हरेक परिवारका पारिवारिक योजनासमेत यसै पर्वमा तय गरिन्छन्। ‘कसैले छोरा वा छोरीको विवाह गर्न खोज्यो भने कचहरीमा कुरा राख्नुपर्छ,’ थारू अगुवा चन्द्रप्रसाद चौधरी भन्छन्, ‘अनि महतवाले ठीक छ भनेपछि मात्रै विवाह हुने परम्परा छ।’ उनले माघीमा प्रस्ताव नराखेर अन्य समयमा विवाह गर्न नमिल्ने थारू संस्कृति रहेको बताए। ‘कसैले त्यस्तो गरिहालेमा पछि ऊ कारबाहीको भागीदार बन्नुपर्छ,’ उनले भने। तर, अहिले थारू समुदायमा यो परम्परा लोप हुँदै गएको छ।

विवाह उत्सव
थारू समुदायमा माघभरि विवाह बढी हुन्छन्। माघीमा कचहरीमै विवाहको प्रस्ताव उठाउनुपर्छ। माघीमा बुहारीभन्दा राम्रो ज्वाइँ खोजीको चिन्तन यो समुदायमा बढी रहने थारू अगुवा बताउँछन्। विवाहका लागि राम्रो बुहारी वा ज्वाइँ नभेट्टाउनेहरूले फागुनमा पनि विवाह गर्ने चलन छ।

थारू बस्तीमा धुमधाम ‘माघी’
थारू समुदायको मुख्य चाड माघी यो समुदायले धुमधामका साथ मनाउँदैछ। यतिबेला घर लिपपोत गरी सिँगारिएका छन् भने बस्ती सरसफाइ गरी चिटिक्क पारिएका छन्। यसै गरी थारू नाचगानले बस्ती गुञ्जायमान बनेका छन्।

माघीको स्वागतका लागि बर्दिया जिल्लाका विभिन्न ठाउँमा माघी महोत्सव आयोजना गरिएको छ। माघी महोत्सवमा अवलोकनकर्ताको भीड बढेको बाँसगढीस्थित माघ महोत्सव संयोजक रामसिंह थारूले बताए। मुलुकका विभिन्न स्थान वा विदेशमा रहेका थारू समुदाय माघ उत्सव मनाउन घर फर्किसकेका छन् ।
धार्मिक महत्वको चाड भएकाले बिहानै नुहाइधुवाइ गरेर शिवजीको पूजा गर्नुपर्छ। पूजा गरी सेतो चामलको टीका लगाइन्छ। थारू समुदायले माघीलाई नयाँ वर्षका रूपमा लिने गरेको गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष बिरु चौधरीले बताए। उनका अनुसार घरमा आएका चेलीबेटीलाई नुन, चामल, दाल छुट्याएर दिने परम्परा छ।

पाँच दिनसम्म हर्षोल्लासका साथ मनाइने माघलाई मिठो खाने र राम्रो लगाउने उत्सवका रूपमा लिइन्छ। यस चाडमा थारूहरूले ढिक्रीलगायतका परिकार तथा सुंगुर, बंगुर, खसी, कुखुरा काटेर खान्छन्। मघौटा नाच यो पर्वको अर्को विशेषता हो। यस्तै घरघरमा गएर सकिया नाच देखाइन्छ। ‘माघी सुरु भएसँगै मीठो खानपिनका साथै घरघरमा गएर सकिया नाच गाएर रमाइलो गर्छौं,’ अस्मिता चौधरीले भनिन्। नाचमा बूढादेखि बालकसम्म सहभागी हुन्छन्।
यसै दिन ठूलाबडा वा आफन्तसँग आशीर्वाद लिने चलन छ। सन्तान नभएका व्यक्तिले शिवजीसँग सन्तानको वर माग्ने परम्परा रहेको खैरीचन्दनपुरका माधव निगमले बताए।

‘पुस मसान्तका दिन बनाइने खानाका परिकारका लागि चामलको पिठोलगायतका सबै तयार गरिसकेका छौं,’ धनगढी उपमहानगरपालिका–१० का रुपनिया चौधरीले भनिन्। माघ १ गते काँचो मासु हेर्नु हुँदैन भन्ने मान्यताअनुसार पुस मसान्तको साँझ मासु पकाएर राख्ने चलन रहेको कैलाली उर्माका भानुराम चौधरीले बताए।

माघीमै गाउँभरका बसेर एकजना नेता ‘भलवन्सा’ चयन गरिन्छ। औषधि मूलो गर्ने गुरुवा र चौकीदार पनि यसैबेला चुन्ने गरिन्छ। माघीका अवसरमा माघ १ गते सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ।
(दिलबहादुर छत्याल/धनगढी, निर्मल घिमिरे/बर्दिया र देवेन्द्र बस्नेत/दाङ)

प्रकाशित: ३० पुस २०७५ ०८:३४ सोमबार

थारू_समूदाय माघी_रौनक कमलरी तराई