समाज

अमेरिकी इन्डो–प्यासिफिक कमाण्डर नेपालमा

टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्दै अमेरिकी कमाण्डर डेभिड्सन। तस्बिर सौजन्य:नेपाली सेना

काठमाडौं– अमेरिकाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल फिलिप एस. डेभिडसन नेपालको दुई दिने भ्रमणमा क्रममा काठमाडौं आइपुगेका छन्।

भ्रमणका क्रममा डेभिडसनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग छुट्टा-छुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।

पछिल्लो १७ वर्षमा पहिलो पटक अमेरिकाले नेपालका उच्च अधिकारीलाई निम्तो दिएर द्विपक्षीय हितका विषयमा कुरा गरे लगत्तै अमेरिकी कमाण्डरको नेपाल भ्रमणलाई अर्थपूर्ण ढंगले हेरिएको छ। गत पुस ३ गते परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी समकक्षी माइक पोम्पेयोबीच बाशिङटन डिसीमा द्विपक्षीय चासो एवं अमेरिकी इन्डो–प्यासेफिक रणनीतिका विषयमा छलफल भएको थियो। चीनले बीआरआई रणनीति अघि सारेर क्षेत्रिय प्रभुत्व विस्तार गरिरहेकै सन्दर्भमा अमेरिकाले इन्डो–प्यासिफिक क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्न लागेको छ।

नेपालको दुई दिने भ्रमण सम्पन्न गरि शुक्रवार स्वदेश फर्किनु अघि अमेरिकी कमाण्डरले नेपाली सेनाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत निरीक्षण गर्ने कार्यक्रम रहेको छ।

कमाण्डर डेभिड्सनले बिहीवार प्रधानसेनापति पूर्णचन्द्र थापासँग जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरे। भेटवार्ताका क्रममा नेपालस्थित अमेरिकी राजदूत र्‌यान्डी बेरि पनि उपस्थित थिए।

त्यस अवसरमा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ। बिहीवार काठमाडौं आइपुग्दा डेभिड्सनलाई सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक गौरव तण्डुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। उनले टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गरेका थिए भने उनको सम्मानमा सम्मानमा जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। तस्बिर सबै: नेपाली सेना

प्रकाशित: २६ पुस २०७५ १२:५६ बिहीबार

अमेरिकी_कमाण्डर नेपाल_भ्रमण इन्डो–प्यासिफिक