समाज

७० वर्षमा नागरिकता पाउँदाकाे खुशी : नयाँ जुनी पाएकाे महसुस भयाे

खिरीदेवी बुढालाई नागरिकता दिँदै गाउँपालिकाका अध्यक्ष र सहायक प्रमुख जिल्ला अधिकारी। तस्बिर : कृष्ण/नागरिक

बाजुरा - खिरीदेवी बुढा उमेरले ७० वर्ष पुगिन्। उनीसँग नागरिकता थिएन्। खप्तड छेडेदह गाउँपालिका ५ बस्ने बुढाले नागरिकता सुरुमा आवश्यक हुन्छ भन्ने थाह पनि पाएकी थिइनन्। जब वृद्धभत्ताका लागि नाम दर्ता गराउन वडा कार्यालय पुगिन्, नागरिकता खोजेपछि उनलाई त्यसकाे महत्व थाहा भयाे।

नागरिकता आवश्यक भएपनि मार्तडी आउन नसकेका कारण सुरक्षा भत्ताका लागि प्रक्रिया रोकिएको थियो। जब गाउँपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गर्‍याे बुढालाई ठूलो राहत मिल्याे। 'छोराहरुलाई समेत मार्तडी गएर नागरिकता बनाउँ भनेकी थिएँ, खर्च हुन्छ भनेर कसैले वास्ता गरेका थिएनन्, घरकै दैलोमा नागरिकता पाउँदा धेरै खुसी लाग्यो' बुढाले भनिन्। नागरिकता पाउँदा नयाँ जुनी फर्किएको महसुस भएको उनले बताइन्।

शिविरमा बुढासँगै ६९ वर्षकी किर्मुली बुढाले पनि नागरिकता बनाएकी छन्। उनी एकल महिला हुन्। मार्तडी पुगेर नागरिकता बनाउने हैसियत नै थिएन्, गाउँमा शिविर आएपछि सुविधा पाएको उनको भनाई छ।

शिविरमा फरक क्षमता भएका र आर्थिक अभावले सेवा लिन नपाएकाहरुले बढी सुविधा लिएको गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताए। सेवा लिनेमा महिलाहरुकै संख्या बढी रहेकाे उनले बताए।

खप्तड छेडेदह गाउँपालिकाका स्थानीयले गाउँमै नागरिकता र चिकित्सक सेवा पाएका छन्। सर्वसाधारणको सहजताका लागि गाउँपालिकाले डोगडीमा एकीकृत घुम्ती शिविर सञ्चालन गरेपछि स्थानीयले गाउँमै नागरिकता र चिकित्सक सेवा पाएका हुन्।

तीन दिनसम्म चलेको शिविरबाट ५५९ जनाले नागरिकता बनाएका छन्। जसमा महिला ३२५ र पुरुष २२४ जना रहेका छन्। आर्थिक अभावले मार्तडी आउन नसकेका, उमेरले नेटो काटिसकेका तथा १६ वर्ष उमेर पुरा गरेका युवायुवतीले गाउँमै शिविर सञ्चालन भएपछि सेवा लिएका हुन्।

प्रकाशित: २६ पुस २०७५ १२:३६ बिहीबार

बाजुरा नागरिकता