डोल्पा - पेम्बा ग्याल्छेन गुरुङ्ग यत्तिखेर काठमाडौँको पुतली सडकस्थित नेम इन्स्टिीच्युटमा लोकसेवा आयोगको पुर्व तयारी कक्षा लिइरहेका छन। २४ वर्षमा पाइला टेकेका गुरुङ्गले पुष्पलाल मेमोरियल कलेजबाटै स्नातक पास गरेका हुन्। उपल्लो डोल्पाको उत्तरी सिमावर्ती क्षेत्रमा रहेको शे फोक्सुण्डो गाउँपालिका वडा ५ मा उनको घर पर्छ। अहिले उनी सुब्बाको लागि सरकारी निजामति कर्मचारी हुने अभिलाषा बोकेर आयोगको लागि पूर्व तयारी कक्षामा जुटिरहेका छन्।
पेम्बा मात्र होइनन् साल्दाङ्ग गाउँपालिकाकै वडा ९ की तेन्जिन आङमो लामाको पनि हेल्थअसिष्टेन हुने धोको पुरा गर्न नेम इन्स्टिीच्यटुमै आयोगको तयारी गरिरहेकी छन्। नेपाल इन्स्टिीच्युट अफ हेल्थ साइन्स जोरपाटीमा अध्यायन गरिरहेकी लामालाई आफ्नो गाउँठाउँमा नेपाल सरकारको स्थायी स्वास्थ्यकर्मी भएर सेवा गर्ने अभिलाषाले पिरोलिरहेको छ। डोल्पा जिल्ला त्यसैमा पनि विकटवस्ती साल्दाङ्गमा जन्मिएका गुरुङ्ग र लामाको स्थायी सरकारी कर्मचारी बन्ने धोकोलाई पुरा गर्न स्थानीय सरकारले पहिलो पटक आयोग पूर्व तयारी कक्षाको ब्यवस्था गरेको छ।
पिछडिएको बस्ती त्यसैमा कमजोर आर्थिक परिवारमा जन्मेका पेम्बा आफ्नो पुर्खादेखि हालसम्म उपल्लो भोटबासीले सरकारी जागिर नखाएको हुनाले सदैव आफ्नो क्षेत्र उपेक्षित बनिरहेको बताउँछन। निजामति कर्मचारी लगायत सुरक्षा तर्फमा पनि स्थायी जनशक्ति भएको भए सामान्य कामको लागि सर्वसाधारण हजाराैँ खर्च गरेर सदरमुकाम धाउनु नपर्ने लामाको भनाई छ।
आफ्नो गाउँठाउ आफ्नै जनशक्तिले बनाऔँ भन्ने मुलमन्त्र बोकेर उपल्लो भोटमा स्थायी जनशक्ति उत्पादन गर्ने उद्देश्यले शे फोक्सुण्डो गाउँपालिकाले पहिलो पटक लोकसेवा आयोगको तयारी कक्षाको काठमाडाैँमै ब्यवस्था गरेको हो। गाउँपालिकाबाटै सम्पुर्ण खर्च व्यहोर्ने गरी पहिलो पटक ३० जनालाई लोकसेवाको तयारी कक्षा संचालन गरिने सुचना प्रकाशित गरिएकोमा १३ जनाले मात्र निवेदन दिएको गाउँपालिकाले जनाएको छ। अहिले गाउँपालिकाकै खर्चमा साल्दाङ्ग गापा वडा ८ की याङजोन गुरुङ्ग,वडा ४ का छोइङ्ग नोर्वु गुरुङ्ग, लगायतका दुई महिला र ११ पुरुष गरी १३ जनाले खरिदार, सुब्बा र हेल्थअसिष्टेनको लागि काठमाडाैँमै आयोगको पूर्व तयारी गरिरहेका छन्।
विगत र वर्तमानमा आफ्नो क्षेत्रका कुनैपनि नागरिकले सरकारी स्थायी सेवामा प्रवेश नगरेकोले बाहिरबाट गएको जनशक्ति भौगोलिक विकटता, दुर्गमता र हावापानीको कारणले नियमित नबस्नले सदैव उपल्लाे भाेट राज्य अनुपस्थितताको मार खेपिरहेकाे वडा ४ का अध्यक्ष पेम्बा वाङ्गछेन गुरुङ्गले बताए।
वातावरण र जलवायुले पनि स्थानीयलाई साथ दिने र स्थानीय जनशक्ति नै कर्मचारी भए यहाँका नागरिकले घरदैलोमै सेवा प्राप्त गर्न सक्ने र भाषा संस्कृती रहन सहनमा पनि सजिलोपन हुने वडा अध्यक्ष गुरुङ्गको भनाई छ। आयोगको पूर्व तयारीको लागि प्रशिक्षार्थीहरुलाई आवतजावत तथा कक्षा शुल्क र खानपानको लागि गाउँपालिकाले २० लाख रकम विनियोजन गरेको गाउँपालिका अध्यक्ष टसिटुण्डुप गुरुङ्गले बताए। सिकाइलाई प्रभावकारी बनाउन तयारी कक्षामा लाग्ने शुल्कको पच्चीस प्रतिशत प्रशिक्षर्थी आफैले ब्यहोरने र नाम निकाल्न सफल भए पछि उक्त रकम फिर्ता गरिने अधयक्ष गुरुङ्गले जानकारी दिए।
प्रकाशित: २५ पुस २०७५ ०७:१५ बुधबार