समाज

व्यापारी झुक्याएर ४० लाख ठग्ने पक्राउ

काठमाडौं – काठमाडौं उपत्याकामा ठगी गर्दै हिँड्ने एक जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ। ठगिएका व्यापारीहरुले उजुरी गरेका आधारमा प्रहरीले काठमाडौंको टोखाबाट कैलालीका वासुदेव मैनालीलाई पक्राउ गरेको हो।

मैनालीले ठगी गर्नकै लागि ३ वटा नागरिकतासमेत लिएको प्रहरीले जनाएको छ।मैनालीले रामचन्द शर्मा, शिवराम पौडेल र वासुदेव मैनालीका नामबाट ३ ओटा नागरिकता लिएका थिए। ‘व्यापारीलाई ठगी गर्नकै लागि ३ वटा नागरिकता बनाएको देखियो,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामाले भने।

प्रहरीका अनुसार मैनाली होलसेल पसलमा जान्थे, सामान हेर्थे अनि महँगा सामान किनेर चेक दिँदै हिड्थे। मैनालीले सामान लिनुअघि आफूलाई ठूलो व्यापारी भएको बताउँदै परिचय दिन्थे। त्यसरी लिएको सामान राख्न मैनालीले काठमाडौंको नारायनटारमा गोदाम बनाएको प्रहरीले फेला पारेको छ।

प्रहरीले मैनालीको गोदामबाट फ्रिज, टिभी, जेनरेटर तथा विभिन्न विदेशी व्रान्डका रक्सी गरी १५ लाख बराबरका सामग्री बरामद गरेको छ। मैनालीले ठगेका ७ जना पीडितहरु प्रहरीको सम्पर्कमा आएका छन्। उनले ७ जना व्यापारीबाट ४० लाख बराबर ठगी गरेको एसएसपी लामाले बताए।

उनले दसैंताका काठमाडौंको टोखास्थित रामप्रसाद श्रेष्ठको मदिरा पसलबाट १८ लाख ५० हजारको विदेशी मदिरा किनेर दुइ वटा चेक दिएर फरार भएका थिए श्रेष्ठलाई उनले गरिमा बिकास बैंक र सिभिल विकास बैंकको चेकसमेत दिएर फरार भएको प्रहरीले जनाएको छ। त्यस्तै ललितपुरको गाबहालस्थित निरञ्जन जोशीको टिभी पसलबाट ३ लाख ५० हजारको टिभी किनेर चेक दिएर फरार भएका थिए।

प्रकाशित: २५ पुस २०७५ ०१:५१ बुधबार

काठमाडौं_उपत्याका ठगी व्यापारी वासुदेव_मैनाली पक्राउ