समाज

खोटाङमा स्वास्थ्य शिविर

खोटाङ – स्वास्थ्य मन्त्रालयले खोटाङका विभिन्न स्थानमा स्वास्थ्य शिविर सुरु गरेको छ। सुविधासम्पन्न अस्पतालमा गएर उपचार गर्न नसक्ने सर्वसाधारणलाई लक्ष्य गरी मन्त्रालयले जालपाबाट विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य शिविर सुरु गरेको हो। क्रमशः जिल्लाका नौ स्थानमा शिविर सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ।

शिविरको पहिलो दिन सोमबार जालपाका ५ सय १० स्थानीयले स्वास्थ्य सेवा लिएका छन्। स्वास्थ्य शिविरमा स्त्रीरोग, बालरोग तथा दाँत, आँखा, स्तन क्यान्सर, हाडजोर्नी, नसा, बाथ, दम, छालासम्बन्धी रोगको उपचारको व्यवस्था छ।

सोसाइटी फर इमरजेन्सी केयर एन्ड सपोर्ट नेपालसँगको सहकार्यमा स्वास्थ्य मन्त्रालयले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो। पहिलो चरणअन्तर्गत जालपाबाट सुरु शिविर पुस ३० गते बाक्सिला, ऐसेलुखर्क र हलेसीमा सञ्चालन गरिनेछ। दोस्रो चरणको शिविर माघ १४ गतेदेखि २० गतेसम्म मात्तिम मानेभञ्ज्याङ, ओख्रेडाँडा गाउँ, सिम्पानी, खोटाङ बजार र चिसापानीमा सञ्चालन गरिने सपोर्ट नेपालले जनाएको छ।

स्वास्थ्य मन्त्रीका प्रमुख सल्लाहकार डा. केके राईको नेतृत्वमा काठमाडौंबाट आएको चिकित्सक टोलीमा वीर अस्पताल, ग्रान्डी अस्पताल र त्रिपुरेश्वर आँखा अस्पतालका गरी नौ विशेषज्ञ डाक्टर छन्। बुधबार बाक्सिलामा शिविर सञ्चालन हुने आयोजकले जानकारी दिएको छ।

प्रकाशित: २५ पुस २०७५ ०१:३९ बुधबार

स्वास्थ्य_मन्त्रालय खोटाङ स्वास्थ्य_शिविर