समाज

ज्येष्ठ नागरिकलाई सम्मान

सम्मानित ज्येष्ठ नागरिक तथा अन्य सहभागी। तस्बिरः भगवती लामा/नागरिक

नुवाकोट – नुवाकोटको ज्येष्ठ नागरिक सेवा समाजले ८० वर्ष नाघेका स्थानीय आठ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ। जिल्लाको विदुर नगरपालिकाभित्रका ज्येष्ठ नागरिकलाई समाजले सम्मान गरेको हो।

स्थानीय केशरबहादुर श्रेष्ठ, पूर्णबहादुर श्रेष्ठ, कर्णबहादुर बोगटी, गणेशमाया श्रेष्ठ, अम्बरबहादुर श्रेष्ठ, बुद्धिबहादुर श्रेष्ठ, देवीप्रसाद घिमिरे र चूडामणि घिमिरेलाई सम्मान गरिएको हो। सम्मान कार्यक्रममा ज्येष्ठ नागरिक सेवा समाजका केन्द्रीय अध्यक्ष मोहनबहादुर केसीले मान्छेको उमेर बढ्दै जाँदा शक्ति घट्दै जाने र सन्तानको सहाराको खाँचो पर्ने बेला बेसाहारा हुन बाध्य भएको उदाहरण समाजमा धेरै रहेको बताए।

‘सरकारी स्तरबाट ज्येष्ठ नागरिकका लागि सेवासुविधा छुट्याएको भए पनि आफ्नै सन्तानले सुविधाको भोग गरिरहेको पाइन्छ। त्यसमा आवाज उठाउन सकिरहेको अवस्था छैन। त्यसको लागि दैलोमा आएको स्थानीय सरकारले विशेष ध्यान दिनुपर्छ,’ केसीले भने, ‘धेरै उमेरसम्म बाँच्न उचित खानपान, सकारात्मक सोच र व्यायामको आवश्यक पर्छ।’

यस्तै विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले स्थानीय सरकारले बस्ती बस्तीमा पुगेर ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिररहेको बताए। साथै नागरपालिकाले उनीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै घुम्ती शिविरसमेत आयोजना गर्ने गरिएको उनले जानकारी दिए। ज्येष्ठ नागरिक सेवा समाज जिल्ला कार्य समिति (नुवाकोट)का अध्यक्ष यज्ञराज केसीले नगरपालिकालाई ज्येष्ठ नागरिकहरूलाई दिवा खाजाको व्यवस्था गरिदिन आग्रह गरे।

प्रकाशित: २४ पुस २०७५ ०२:०१ मंगलबार

नुवाकोट ज्येष्ठ_नागरिक सम्मान