समाज

प्रश्नपत्रमा त्रुटि भएकोमा आपत्ति

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डद्वारा आइतबार सञ्चालित कक्षा ११ को अनिवार्य नेपाली विषयको ग्रेड वृद्धि परीक्षाको प्रश्नपत्रमा अक्षम्य र आपत्तिजनक त्रुटि रहेको भन्दै मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले आपत्ति जनाएको छ ।

सञ्जालको दबाब र आन्दोलनका कारण नेपाल प्रज्ञा प्रतिष्ठान, त्रिवि नेपाली विषय समिति, नेपाली भाषा तथा राष्ट्रिय भाषा विषय समिति, शिक्षा मन्त्रालयको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विभिन्न मितिमा अमानक वर्णविन्यास खारेज गरी सबै तहको पठनपाठन, पाठ्यपुस्तक र परीक्षा प्रणालीमा मानक वर्णविन्यासको प्रयोग गर्ने निर्णय गरेका थिए । तर जिम्मेवार सरकारी निकायले लिएका परीक्षामा सम्बद्ध निकायको निर्णय कार्यान्वयन नगरी बदनियतपूर्ण ढंगबाट अमानक वर्णविन्यासको प्रयोग गरी प्रश्नपत्र तयार गरिनु दुर्भाग्य भएको ठहर सञ्जालको छ ।

सञ्जालका अध्यक्ष प्राडा खगेन्द्रप्रसाद लुइँटेलले भनेका छन्, ‘शिक्षा मन्त्रालयअन्तर्गतका निकायले यी सबै निर्णय अनिवार्यतः कार्यान्वयन गर्नुपर्नेमा बदनियतपूर्ण ढंगबाट गरिएको गम्भीर षड्यन्त्र तथा जघन्य अपराध हो ।’

प्रकाशित: २४ पुस २०७५ ०१:५४ मंगलबार

राष्ट्रिय_परीक्षा_बोर्ड प्रश्नपत्र त्रुटि मानक_नेपाली_भाषा_अभियान शिक्षा_मन्त्रालय परीक्षा