समाज

विस्थापित परिवारलाई लालपुर्जा

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिका–१, साङ्ग्युलका २१ परिवारलाई सोमबार लालपुर्जा वितरण गरिएको छ। ४३ महिनाअघि आएको भूकम्पका कारण पहिरोको जोखिममा परेका परिवारलाई लाङ्बुमा जग्गा खरिद गरेर पुर्जा वितरण गरिएको हो। गाउँपालिकामा १ सय २६ परिवार पहिरोको जोखिममा छन्। तीमध्ये हालसम्म ४० परिवारको मात्रै स्थानान्तरण हुन सकेको छ।

‘जोखिममा परेका परिवारको स्थानान्तरण गर्ने काम भइरहेको छ,’ गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामाले भनिन, ‘बाँकी परिवारलाई पनि स्थानान्तरण गर्दै जान्छौं।’ जग्गा अभाव र थातथलो छाड्न नचाहेका कारण स्थानान्तरणमा ढिलाइ भएको उनले बताइन्।

जिल्लाको नौकुण्ड गाउँपालिकामा ३ हजार ३ सय ४९ लाभग्राही छन्। जसमा ३ हजार २ सय ८२ परिवारले पहिलो किस्ता, ३ हजार ३६ लाभग्राहीले दोस्रो र २ हजार ७ सय ५४ पीडितले तेस्रो किस्ता बुझिसकेका छन्।

निजी आवास पुनर्निर्माणका हिसाबले यो गाउँपालिका पहिलो स्थानमा पर्छ। तर बस्ती स्थानान्तरणमा भने जिल्लाका पाँचवटा स्थानीय तहमध्ये पाँचौ स्थानमा छ। समयमा नै बस्ती स्थानान्तरण हुन नसक्दा रसुवाका ६ सय ३ परिवारले निजी आवास निर्माण गर्न पाएका छैनन्। रसुवामा १ हजार १५ परिवार पहिरोको जोखिममा छन्।

प्रकाशित: २४ पुस २०७५ ०१:५२ मंगलबार

रसुवा भूकम्प जोखिम_परिवार लालपुर्जा