समाज

हिमालपारि ताल जम्ने चिसो

चिसोका कारण सोमबार जमेको मुस्ताङको ढुम्बा तालको सतह। तस्बिरः नागरिक

पोखरा/मुस्ताङ – हिमाली जिल्लामा अधिक चिसोका कारण तालतलैया जम्न थालेका छन्। तालको पानी जम्ने गरी मुस्ताङमा चिसो बढेको छ। चिसोका कारण बजार सुनसान छ भने मान्छेको आउजाउ पनि शून्यजस्तै भएको छ।

मुस्ताङमा आइतबार रातिदेखि हिमपात सुरु भएको थियो। सोमबार दिउँसो पनि बेलाबेला हिमपात भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का जोमसोम स्थित संरक्षण अधिकृत तुलसी दाहालले बताए। उनका अनुसार दिउँसोको तापक्रम पनि माइनस १ डिग्रीमा झरेको छ। सदरमुकाम जोमसोम आसपासका डाँडा र खोंच हिमपातले सेताम्य बनेका छन्।

‘तालको पानीसमेत जम्ने गरी चिसो बढेको छ,’ दाहालले भने, ‘बिहानको चिसो झनै बढी छ। माइनस ७ डिग्रीसम्म तापक्रम ओर्लेको छ।’ उनका अनुसार मंसिर अन्तिम साता उच्च हिमाली भेगमा आंशिक मात्रामा हिमपात भए पनि सदरमुकाम जोमसोम आसपासमा समेत हिमपात भएको सिजनको यो पहिलोपटक हो। ‘पहिलोपटकको हिमपातले यहाँ किसान त खुसी भएका छन्। चिसो बढेर बसाइ असहज बनेको छ,’ उनले भने, ‘पानी जमेपछि दैनिकी अप्ठेरो हुन्छ।’

मुस्ताङका डिएसपी महेन्द्र खड्काका अनुसार रातमा चिसो निकै बढ्ने गरेको छ। ‘सदरमुकाम जोमसोम नजिकैको ढुम्बातालको पानीको सतह जमेको छ,’ उनले भने, ‘तालको पानी जम्नु भनेको यहाँ चिसो कति छ भनेर सहजै अनुमान गर्न सकिन्छ। हिमपात र चिसो हावाले गर्दा चहलपहल छैन।’ उनका अनुसार सदरमुकाम जोमसोम र आसपासका डाँडामा निरन्तर हिमपात भइरहेको छ। सदरमुकाम जोमसोमदेखि नजिकैको आकर्षक पर्यटक गन्तव्य ढुम्बातालको पानी जमेर बरफ बनेपछि त्यहाँ रहेका न्यून पर्यटक रमाएको स्थानीयले बताए।

हिमपातले किसान खुसी भए पनि चिसोले बसाइ असहज बनेको छ। पानी जमेपछि दैनिकी अप्ठेरो हुन्छ।

चिसो बढेपछि बजार र गाउँका धेरै मान्छे सहर झरेका छन्। ‘चिसोको प्रभाव कत्तिको छ भनेर गाउँ बस्तीको अवस्था बुझ्न हामी पनि सदरमुकाम नजिकको गाउँमा आएका छाैं,’ खड्काले भने, ‘अधिकांश घर रित्ता छन्। सजिलै हिँड्न नसक्ने बूढाबूढी र केटाकेटी मात्रै छन्। मान्छे देख्न मुस्किल छ।’ अधिक चिसोका कारण जोमसोम र आसपासमा गाडी पनि कम चलेका छन्।

‘मान्छेको आउजाउ छैन, सुनसान भएपछि चहलपहल हुने कुरै भएन। पर्यटक पनि छैनन्,’ खड्काले भने, ‘बजारमा पनि कफर्यु लागेजस्तै सुनसान छ। कर्मचारी पनि फुर्सदिला छन्। सेवाग्राही नआएपछि बजार र कार्यालय सुनसान हुने नै भयो।’ उनका अनुसार अधिक चिसोका कारण धाराबाट पानीसमेत आउन सकेको छैन। पानी तताएर पाइपमा खन्याएर धारामा पानी झारेर कामचलाउ गरेको डिएसपी खड्काले बताए।

कात्तिक महिनापछि मुस्ताङमा चिसो बढ्न सुरु हुन्छ। प्रायः मंसिर, पुस र माघमा हिउँ पर्ने स्थानीयले बताएका छन्। मुस्ताङकोे तल्लो भेग मानिने थासाङ गाउँपालिकादेखि माथिल्लो मुस्ताङसम्म हिउँ परिरहेको खड्काले बताए। हिउँ परेपछि हिउँदे बालीलाई भने राहत मिलेको छ। हिउँदयाममा खेती हुने उवा र जौको सिँचाइका लागि हिमपात नै भर पर्ने अवस्था छ। स्याउ टिपेर हाँगा–पात काटछाँट गरेपछिको सिँचाइको माध्यम पनि हिमपात हो। पानी कम पर्ने जिल्ला भएकाले हिमपातले किसानलाई राहत मिलेको स्याउ जोन मुस्ताङका कृषि अधिकृत शिवपुजन गुप्ताले जानकारी दिए। ‘हिमपात हुँदा किसान खुसी हुन्छन्। किनकि यहाँको सिँचाइको भर नै हिमपात हो,’ उनले भने, ‘चिसो हुँदाहुँदै पनि हिमपातले स्थानीय खुसी हुने गरेका छन्।’

हिउँदको समयमा मुस्ताङ सुनसान हुन्छ। हिउँदयाममा जाडो छल्न र व्यापारका लागि सर्वसाधारण तल (पोखरा, काठमाडौं) झर्ने गर्छन्। पर्यटक कम मात्रा भित्रिने हुँदा यतिबेला अधिकांश होटल बन्द छन्। उपल्लो मुस्ताङका विद्यालय जाडोकै कारण बन्द छन्। बालबालिकाहरू पोखराका घुम्ती विद्यालयमा पढिरहेका छन्।

यसपटक सिजनमा हिमपात भए पनि अघिल्लो वर्षमा जस्तो बाक्लो हिमपात नभएको स्थानीयले बताएका छन्। ‘जोमसोममै २–३ फिट बाक्लो जम्ने गरी हिउँ पथ्र्याे’, स्थानीय कृष्णमोहन नेपाली भन्छन्, ‘अहिले त्यसरी हिउँ परेन।’ उनका अनुसार विगत पाँच वर्षदेखि यहाँ सिजनको हिमपात सोचेजति छैन। जोमसोम आसपास नीलगिरी, धौलागिरीलगायतका हिमाल हिउँ परेपछि सेताम्मे छन्।

मनाङमा पनि चिसो उस्तै बढिरहेको डिएसपी खड्क खत्रीले बताए। उनका अनुसार पुस लागेपछि चिसो बढ्न थालेको थियो। सोमबार बिहानको त्यहाँको तापक्रम माइनस ७ डिग्री रहेको उनले बताए। माथिल्लो भेगका मनाङ गाउँ, तिलिचो, हुम्दे क्षेत्रमा बाक्लो हिउँपरेको उनले बताए।

हुम्दे विमानस्थलमा मंगलबार पोखराबाट गर्ने भनिएको हवाईजहाजको परीक्षण उडान पनि हिमपातका कारण रोकिएको छ। टंकी मनाङको गंगापूर्ण ताल पनि बेलाबेला जम्ने गरेको उनले बताए। ‘केही दिनअघिको हिमपातमा गंगापूर्ण ताल जमेको थियो, यो पटक पनि सतह जमेको छ,’ उनले भने, ‘अधिक चिसोले जनजीवन प्रभावित छ। मान्छेको आउजाउ नै छैन।’

प्रकाशित: २४ पुस २०७५ ००:५४ मंगलबार

हिमाली_जिल्ला चिसो तालतलैया पानी