समाज

चन्द नेतृत्वका दुई कार्यकर्ता पक्राउ

सुर्खेत - जिल्ला प्रहरी कार्यालय सुर्खेतले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई पक्राउ गरेको छ।वीरेन्द्रनगरमा एक व्यापारीलाई धम्क्याएर पाँच लाख रुपैयाँ माग्दै गरेको अवस्थामा जिल्ला सदस्य गोविन्द योगी  र पार्टी निकट अनेरास्ववियू (क्रान्तिकारी) का जिल्ला अध्यक्ष कमलसिंह बुढालाई आइतबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका दुबै जनालाई अपहरण तथा शरिर बन्धक उद्योग अन्तर्गत मुद्दा चलाएको छ। ‘व्यापारीलाई धम्क्याएर पाँच लाख रुपैयाँ चन्दा मागिरहेको बेला हामीले उनीहरुलाई पक्राउ गरेका हौं' जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदिपबहादुर क्षेत्रीले भने, ‘पक्राउ परेकाहरुलाई अपहरण तथा शरिर बन्धक उद्योग अन्तर्गत मुद्दा दर्ता गरेका छौं।’ प्रहरीले व्यापारीको नाम गोप्य राखेको छ।

चन्द नेतृत्वकाे नेकपाले भने बजारमा हिँडिरहेको बेला आफ्ना कार्यकर्ता पक्राउ गरेको आरोप लगाएकाे छ। अखिल क्रान्तिकारीका जिल्ला संयोजक पुष्पराज न्यौपानेले पार्टी कामको शिलशिलामा वीरेन्द्रनगर बजारमा हिँडिरहेको अवस्थामा प्रहरीले विना कारण योगी र बुढालाई पक्राउ गरेको दाबी गरे।

 

प्रकाशित: २३ पुस २०७५ १४:०० सोमबार

सुर्खेत नेत्रविक्रम_चन्द  कार्यकर्ता पक्राउ