समाज

श्रीमानले श्रीमतीको हत्या गरेको आरोप

सर्लाही– मलङ्गवा नगरपालिका ६ खुटौनाकी १८ वर्षीया किरण देवी साहको हत्या भएको माइती पक्षले दावी गरेको छ। माइती पक्षको अवरोधका कारण शनिबार राती ८ बजे देखि नै मृतकको शव सदरमुकाममलंगवा स्थित जिल्ला अस्पतालको पोष्टमार्टम गृहमै थन्किएको छ।

श्रीमानले रक्सी सेवनगरी कुटपीट गर्दा किरण देवीको ज्यानगएको माइतीपक्षले आरोप लगाएका हुन्। मृतकका श्रीमान बेचु साहले भने झ्याल माथि तेर्साएर राखिएको बाँसमा सलको पासो लगाएर किरण देवी झुण्डिरहेको अवस्थामा देखेपछि तत्काल पासो खोलेर शनिबार राती नै उपचारका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याए पनि चिकित्सकले मृत घोषणा गरेका दावी गर्दै आएको प्रहरीले जनाएको छ। 

जिल्लाकै हरिवन नगरपालिका–२ लालभित्ती घर भएकी किरण देवीले गएको वैशाखमा बेचुसँग विवाह गरेकी थिइन् । शरीरको विभिन्न भागमा निलडाम र चोट देखिएको दावी गर्दै किरण देवीको हत्या गरेर झुण्ड्याइएको हुन सक्ने माइती पक्षले आशंका गरेका छन्। मृतकका माइती पक्षले भने घटना शङ्कास्पद रहेकाले निष्पक्ष छानविन हुनुपर्ने माग गरे। 

प्रहरी उपरीक्षक पोषराज पोखरेलले भने घटनाबारे अनुसन्धान भइरहेको बताए। ‘घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान गरिरहेका छौं, शवको पोष्टमार्टम भइसकेको छ, अब रिपोर्ट आएपछि सोही अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने छौं,’ प्रहरी उपरीक्षक पोखरेलले भने, ‘हत्या नै दाबी गर्नुहुन्छ भने जाहेरी दिनुस् भन्दा पनि माइती पक्षले जाहेरी समेत दिनु भएको छैन।’ पोष्टमार्टम रिपोर्ट आएपछि हत्या वा आत्महत्या यकिन हुने र आत्महत्या नै भएपनि घरपक्षको दबाब देखिए कानूनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने एसपी पोखरेलको दाबी छ। 

माइतीपक्ष सहितको सहमतिमा शव घर पक्षलाई बुझाउने तयारी भइरहेको र माइतीपक्ष सम्पर्कमा नआए पनि राती सम्ममा शव घर पक्षलाई बुझाएर पठाइने प्रहरीले जनाएको छ।

प्रकाशित: २२ पुस २०७५ १४:४१ आइतबार

हत्या