समाज

चन्द नेतृत्वकाे नेकपा निकट शिक्षक संगठनका एक शिक्षक पक्राउ

रोल्पा - रोल्पा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठन रोल्पाका सचिव भुपबहादुर केसिलाई पक्राउ गरेको छ। आधारभुत बिद्यालय सल्लीबोटका शिक्षक केसिलाई आइतवार बिद्यालयबाटै पक्राउ गरिएको हो।

‘सोध पुछका लागि ल्याएका हौं। शिक्षक भएर पढाउने भन्दा राजनीति बढि गरेको र अरुलाई धम्क्याउँदै हिडेको गुनासोका आधारमा सोधपुछ गर्दैछौ।’ रोल्पा प्रहरी प्रमुख डिएसपी दिपक खड्काले बताए। बिद्यालयका प्रअ उदय महराका अनुसार बिद्यालयमा पढाईरहेका शिक्षक केसिलाई सादा पोसाकमा आएका प्रहरीले सोधपुछ गर्नु छ भन्दै लगेका थिए। ‘प्रहरीले सुरुमा मलाई सम्पर्क गरे। मैले पढाईरहेको शिक्षकलाई बिना कारण लैजान मिल्दैन भने पछि डिएसपीसँग फोन गराए। उहाँले पनि सोधपुछका लागि मात्र हो भन्नुभयो। चित्त नबुझेर मैले फेरी सिडिओलाई फोन गरे उहाँले पनि पठाईदिनु भनेपछि उनीहरुले केसि सरलाई लगेका हुन्।’ प्रअका अनुसार बिद्यालय पोसाकमै शिक्षक केसिलाई पक्राउ गरिएको थियो। 

‘बिद्यालयमा पढाउँदै गरेका शिक्षकलाई प्रहरीले पक्राउ गर्नु दुखद हो। बिनाकारण शिक्षक पक्राउ गर्नु राम्रो संकेत होईन। उहाँलाई बिना सर्त तुरुन्तै रिहाई गरिएन भने आन्दोलन गर्न बाध्य हुनेछौं।’ नागरिकसँग कुरा गर्दै अखिल नेपाल शिक्षक संठनका रोल्पाका अध्यक्ष प्रेम केसिले बताए।

 

प्रकाशित: २२ पुस २०७५ १४:०५ आइतबार

रोल्पा नेत्रविक्रम_चन्द शिक्षक_पक्राउ