समाज

रामेछापका कैदीबन्दीले गरे रक्तदान

रामेछाप कारगारमा रक्तदान गर्दै कैदीबन्दीहरू। तस्बिर:मञ्जु उप्रेती/नागरिक

रामेछाप – बज्रमोहन शुभद्रादेवी स्मृति प्रतिष्ठानले शनिबार रामेछापको पुरानो सदरमुकाम रामेछापमा सञ्चालन गरेको एकदिने स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रममा ६८ कैदीसहित १ सय १२ जनाले रगत दान गरेका छन्।

स्त्रीरोग तथा प्रसूति सेवा, नाक, कान, घाँटी, आँखा र हाडजोर्नीसम्बन्धी स्वास्थ्य शिविरबाट तीन सय जनाले लाभ लिएको प्रतिष्ठानका सचिव सुजनकुमार काफ्लेले जानकारी दिए। सर्वसाधारणलाई लक्षित गरी सञ्चालन गरिएको स्वास्थ्य शिविरमा रामेछाप कारागारमा रहेका कैदीहरूले समेत स्वतःस्फूर्त रूपमा रक्तदान गर्ने जानकारी गराएपछि कारागारभित्र पनि रक्तदान कार्यक्रम गरिएको उनले बताए।

उक्त प्रतिष्ठानले केही समयदेखि व्यक्तिगत सहयोगबाटै स्वास्थ्य शिविर, विद्यालयलाई सहयोग र प्राकृतिक प्रकोपमा परेकाहरूलाई सहयोग गरिरहेको छ। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिष्ठानले जनाएको छ। शिविर सञ्चालनका लागि काठमाडौं मेडिकल कलेज र नेपाल रेडक्रस सोसाइटी धनुषा रक्त सञ्चार केन्द्रले प्राविधिक सहयोग गरेको आयोजकले जनाएको छ। स्थानीय व्यवस्थापन सारथी युवा क्लबले गरेको थियो।

 

प्रकाशित: २२ पुस २०७५ ०२:०६ आइतबार

बज्रमोहन_शुभद्रादेवी_स्मृति_प्रतिष्ठान स्वास्थ्य_शिविर रक्तदान कैदी