समाज

दश वर्षपछि भेटिए छोरा, घरमा खुशयाली मनाइदैँ

बाजुरा - बाजुरामा एक युवा दश वर्षपछि परिवारको सम्पर्कमा आएका छन्।  स्वामीकार्तिक खापर गाउँपालिका–३ तत्कालीन जुकोट गाविस–६ का देव लुहार बेपत्ता भएको १० वर्षपछि परिवारको सम्पर्कमा आएका हुन्।

९ वर्षको उमेरमा २०६५ भदौ १२ गते बेवारिसे अवस्थामा फेला पारिएका लुहारलाई जिल्ला बाल कल्याण समिति बाजुराका तत्कालीन बालअधिकार अधिकृत सर्पलाल गिरीको पहलमा उद्धार गरी यनलाई केन्द्रीय बाल कल्याण समिति ,काठमाडौँमा बुझाइएको थियो।

उनको काठमाडौँमै पालनपोषण भएको थियो। जिल्ला प्रशासन कार्यालय बाजुराले कोल्टीमा नागरिकता वितरणका लागि घुम्ती शिविर आयोजना गरेको थाहा पाएपछि बाजुरा घर हो भन्ने थाहा पाएका लुहार नागरिकता बनाउन काठमाडौँबाट बाजुरा आएका थिए। सो क्रममा उनको परिवार पत्ता लागेर उनी परिवारको सम्पर्कमा आएका हुन्। छोरा भेटिएको घरमा खुशयाली मनाइदैँछ।

घरपरिवार पत्ता लागेपछि स्वामीकार्तिक–३ का वडाध्यक्ष वीरजित कट्टेल, बूढीनन्दा नगरपालिका–४ का अध्यक्ष राजन रोकाया र रेडियो बूढीनन्दाका अध्यक्ष सर्पलाल गिरीको रोहवरमा उनलाई बुवा सर्पलाल लुहारको जिम्मा लगाइएको छ । देव लुहारका आफ्ना परिवारसँग परिचय मात्र भएको छैन, आफ्नै बुबाको नामबाट नागरिकता पाउँदा खुशी भएको उनले प्रतिक्रिया दिएका छन्।(रासस)

प्रकाशित: २१ पुस २०७५ ०६:४१ शनिबार

बाजुरा परिवार सम्पर्क खुशयाली