समाज

ठेलाले धानेको जिन्दगी

ठेलामा तरकारी बोकेर लहानको होटलमा पुर्‍याउँदै देवीलाल सदाय। तस्बिर: मिथिलेश/नागरिक

अशिक्षा, गरिबी र पीडालाई चिर्दै ‘म पनि केहि गर्न सक्छु’ भन्ने महत्वाकांक्षी भावनालाई साकार पार्ने कार्य मजदुर पुस्ताका लागि कतिको चुनौतीपूर्ण हो त्यो देविलालभन्दा राम्ररी कसलाई थाहा हुन सक्छ र!

मधेसका मुसहरहरूको जिन्दगी भनेकै गिरहतको जनमजदुरीबाट सुरु भई जनमजदुरीमै समाप्त हुन्छ। स्वरोजगारी वा स्वतन्त्र भएर काम गर्ने कुरा उनीहरूका लागि सपनाजस्तै हो। त्यसमा पनि दुई दशकअघिसम्म गिरहतको गुलामीबाट फुत्किने कुरा मुसहर युवाका लागि निकै चुनौतीपूर्ण थियो।

लहानको चोक, बजार एवं बस्तीमा २०४८ सालदेखि ठेला चलाउँदै आएका ५० वर्षीय देवीलाल सदाय गिरहतको जनमजदुरी गर्ने पुखर्यौली पेशालाई चुनौती दिने अगुवा युवा हुन्। उनले जनमदुरीभन्दा फरक बाटो रोजे– ठेला चलाउने। पहिला अरुको ठेला भाडामा चलाउथेँ। पछि त्यो ठेला आफैं किने।

दुई दशकअघि पाँच हजारमा खरिद गरेको ठेला पेलेर उनी लाखौं कमाइसकेका छन्। उनले त्यहि भएर होला ठेलालाई ‘जीवन’ भनेको।

‘पौरखले आर्जेको यो ठेला हो, मेरो जीवन भनेकै ठेला र ठेला भनेकै मेरो जीवन हो,’ उनले भने, ‘बच्चाबच्चीको मुखमा अन्नको दानादेखि पढाई खर्च जुटाउने सहारा पनि यही ठेला हो। यसमै संघर्ष गर्दैछु।’ देवीलालको दुई सन्तान र पत्नीको लालनपालनको पिरलो छैन। ‘मिहिनेत गर्छु। बाँकी सबैथोक भगवानमाथि छाडिदिएको छु,’ उनले भने। ‘भगवानले सबै पूरा गरिदिन्छ,’ उनले थपे। ठूली छोरी १५ वर्षीया दिलकुमारी र कान्छी १२ वर्षीया रितुकुमारी लहानस्थित लक्ष्मण ललिता कुशवाहा माविमा पढ्छिन्।

हुर्किरहेकी छोरी दिलकुमारीको बिहेको प्रबन्धका लागि उनलाई चिन्ता छैन। ‘ठेला पेलेर जतन गरेको पैसाबाट दिलकुमारीको बिहेको प्रबन्ध भइहाल्छ,’ उनले भने, ‘नपुगेको किस्तामा उठाउँछु।’ उनले किस्तामा यसअघि पनि पैसा उठाएर पक्की घर, भैंसी जोरिसकेका छन्। किस्तामा उठाएको रकम ठेलाकै कमाईबाट चुक्ता गरिसकेको उनले बताए। पहिला पनि किस्ता उठाएर चुक्ता गरिसकेकाले उनी दृढ छन्। दिनभर मिहिनेत गरेर साँझ एक हजारदेखि १५ सय कमाएर घर फर्कन्छन् देवीलाल। दुई दशकअघि पाँच हजारमा खरिद गरेको ठेला पेलेर उनी लाखौं कमाइसकेका छन्। उनले त्यहि भएर होला ठेलालाई ‘जीवन’ भनेको।

यस नगरको इतिहास, आम मान्छेको संघर्ष एवं विकासक्रमको साक्षी हुुन् देवीलाल। पातलो बस्ती भएको विकासोन्मुख गाउँजस्तो लहानदेखि घना बस्तीले ढाकेको लहान सहरसम्म। तीन पटकको माओवादी आक्रमण खेपेको लहानदेखि मधेस आन्दोलनको उग्र रूपको उनी गवाही दिन्छन्। जंगल, खेत र पातलो बस्ती हुँदै विशाल सहरमा परिणत भएको लहानको इतिहासको उनी साक्षी हुन्। ‘उतिबेला फाट्टफुट्ट घर थिए। हिलो र कच्ची बाटोमा ट्याक्टरजस्तो वजनदार गाडीमा स्थानीय ओहोरदोहोर गर्थे,’ उनी सम्झन्छन्। त्यो बेला हलुका मालसामान ढुवानीका लागि मानिस ठेला प्रयोग गर्थे। स्थानीय बजार घुम्न रिक्सा चढ्थे।

ऊ बेलादेखि अहिलेसम्म थुप्रै परिवर्तन भए। नयाँ–नयाँ प्रविधि र वाहन भित्रिए। तर, देवीलालको दैनिक जीवनशैली फेरिएको छैन। बिहान झिसमिसैमै उनी लहान–३ विहारपुरस्थित मुसहर बस्तीबाट देवीलाल ठेला लिएर निस्कन्छन्। घरदेखि करिब तीन किमि पश्चिमको सहिद चोकको तरकारी बजारमा आइपुग्छन्। यो उनको व्यावसायिक ठेगाना हो। यहाँ उनलाई थोक तरकारी बिक्रेताहरूले कुरिरहेका हुन्छन्। उनी तरकारी बजार प्रवेश गर्छन्। तरकारीको पोका, बोरा उचालेर ठेलामा लोड गर्छन्। अनि होटल, स्कुल र व्यावसायिक प्रतिष्ठानहरूमा पुर्‍याउँछन्।

तरकारी बजारको काम सकेर उनी सिमेन्ट, छड र चामललाई ठेलामा राखेर घर तथा पसलसम्म पुर्‍याउँछन्। नम्बर नचिन्ने गाह्रो उनले खल्तीमा जतिखेर पनि एउटा सानो थोत्रो मोबाइल राख्छन्। उनलाई आफ्नै मोबाइलको नम्बर थाहा छैन। जान्ने बुझ्नेलाई हेर्न लगाएर ग्राहक वा चिनेजानेकालाई नम्बर दिन्छन्। चलाउन नआउने हुनाले रिसिभ मात्र गर्छन्।

‘यस सहरको म पुरानो ठेलावाला हो,’ उनले गर्वका साथ परिचय दिन्छन्। स्थानीयले पनि उनलाई विश्वासिलो, भरपर्दो र मिजासिलो ठेलावाला भनेर चिन्ने गर्छन्। ‘ठेलावालामा उनीजतिको भरपर्दो मैले भेटाएको छैन,’ लहानस्थित होटल गोधुलीका म्यानेजर रमेश श्रेष्ठले भने।’ उनीसँग सम्पर्क भएदेखि तरकारी, चामल लगायतका सामानका लागि कहिल्यै धोखा खानु परेन,’ श्रेष्ठले थपे।

तरकारी व्यापारी गुरदयाल महतले भने,‘लेखपढ नभए पनि देवीलाललाई दोहर्‍याएर अढाईराख्नुपर्दैन्। एक पटक भनेपछि टिपिहाल्ने, तेज दिमाग भएको मान्छे हुन उनी।’ गुरदयालको तरकारी पसल देवीलालको अर्को सम्पर्क अड्डा हो। उनी पहिला अर्काको जग्गामा घर बनाएर वर्षौंसम्म लहानको बिहारमा बसेका रहेछन्। त्यसपछि धेरै वर्ष लगाएर बचत गरेको रकमले १५ वर्षअघि बिहारपुरमै जग्गा किनेर झुपडी बनाए। पछि बचत गरेको रकमले पक्कि घर ठड्याएका छन्। उनको पुर्खा अर्काकै जमिनमा झपडी टाँगेर जनमजदुरी गर्दै जिन्दगी गुजारे। ‘पुर्खाहरू सबै गिरहतकै जनमजदुरी गरेर जिन्दगी गुजारे,’ उनले भने, ‘मैले पुख्र्यौली परम्परा तोडेर अर्को बाटो रोजे –संघर्षको बाटो।’

देवीलाल सानै हुँदा ज्यालादारी मजदुरी गरेर परिवार पाल्ने पिताको देहान्त भयो। किसानकोमा हली कामलाई निरन्तरता दिने कि अर्को बाटो रोज्ने उनीसँग दुई विकल्प थियो। उमेर नपुगेकाले नागरिकता बनेको थिए। नागरिकता नबनेकाले तेस्रो रोजगारीका लागि विदेश जाने विकल्प थिएन उनीसँग। पहिलो विकल्प पुर्खाले गर्दै आएको कामलाई निरन्तरता दिनु सजिलो थियो। तर, उनी अप्ठ्यारो बाटो रोजे– ठेला पेल्ने संघर्षको बाटो।

पछिल्लो समय रिक्सा र ठेलाको विकल्पको रूपमा इ–रिक्साले बजार लिएको छ। पाइडलवाला रिक्सा विस्थापित नै भइसकेको छ। बजारमा ठेला पनि बिरलै भेटिन्छ। मालसमान ओसारपसारका लागि विद्युतले चल्ने ठेला समेत भित्रिएको छ। ‘ठेला त फलामको पती, लकडी र चक्काले बन्दो रहेछ,’ देवीलाल भन्छन्, ‘यसको मर्मत खर्च पनि सस्तो छ।’ उनले २७ वर्षयता पटक–पटक गरी पाँच–सात पटक ठेला बनाउन लगेका छन्। त्यतिबेला सखुवा काठ सस्तो भएको हुनाले दुई–चार हजारमै ठेला बन्थ्यो। अहिले त ३० हजार रूपैयाँभन्दा बढी पर्छ। सखुवा काठ पनि महँगो, फलाम पनि महँगो सबै थोक महँगो।

विद्युतीय ठेला किन नकिनेको जिज्ञासामा उनले भने, ‘पाँच लाख लगानी लगाएर पनि कमाई उही हो। हजार पन्ध्र सयभन्दा बढी कमाई हुँदैन। किस्ता वापतको बैंकको ऋण चुकाउनु कि घर चलाउनु, मेरा लागि यही ठेला गज्जब छ।’
महिनाको ३०–४० हजार कमाई हुने उनले बताए। ‘अहिलेसम्म शरीरमा कुनै रोगले पनि छुन सकेको छैन। कमाई पनि हुने, व्यायाम पनि,’ उनी मुस्कुराए।

सम्मानको जीवन जीउन कठिन परिश्रम गर्दै आएका देविलाल आफ्नो कमाइबाटा सन्तुष्ट छन्। विदेशजतिको कमाई घरपरिवारसँग बसेरै गर्न पाएपछि उनी खुसी छन्। ‘भारी उठाउनु, ठेला पेल्नुलाई जीवनशैली बनाएका देवीलाल श्रममा विश्वास गर्छन्। भन्छन्, ‘श्रम गरेर सम्मानका साथ कमाई गर्छु, कसैलाई बिराउदिनँ। कसैले बिराउँदैन।’

प्रकाशित: २१ पुस २०७५ ०३:२६ शनिबार

अशिक्षा गरिबी पीडा मजदुर ठेला जिन्दगी