समाज

दुई प्रहरी पोस्ट हस्तान्तरण

भक्तपुर – भक्तपुरका दुई छुटाछुटै स्थानमा प्रहरी पोस्ट निर्माण गरी बिहीबार हस्तान्तरण गरिएको छ। अरनिको राजमार्गअन्तर्गत महानगरीय प्रहरी वृत्त जगातीमा निर्माण सम्पन्न जगाती प्रहरी चेकिङ पोस्ट र च्याम्हासिंहमा बनेको च्याम्हासिंह प्रहरी पोस्टको साँचो हस्तान्तरण गरिएको हो।

दुवै पोस्टको महानगरीय प्रहरी वृत्त जगातीमा एक कार्यक्रम गरी साँचो हस्तान्तरण गरिएको हो। इन्टरनेसनल ग्रिन डेभलपर्स नेपाल प्रालिका कार्यकारी उपप्रमुख कृष्ण देउपालाले महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) हिमालयकुमार श्रेष्ठलाई साँचो हस्तान्तरण गरेका हुन्। इन्टरनेसल ग्रिन डेभलपर्सलगायतको सहयोगले प्रहरी पोस्ट निर्माण गरिएकाले निर्माण सम्पन्न दुवै पोस्टको साँचो त्यसका कार्यकारी उपप्रमुख देउपालाले एसपी श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्।

समुदाय प्रहरी साझेदारीअन्तर्गत पोस्ट निर्माण गरिएको हो। त्यसका लागि इन्टरनेसनल ग्रिन डेभलपर्स नेपाल प्रालिसहित मेघा इन्जिनियरिङ प्रालि, महाशक्ति इन्जिनियरिङ प्रालिले सहयोग गरेको कार्यक्रममा जनाइयो। ‘हरप्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने नाराका साथ सरकारले समुदाय प्रहरी साझेदारी अभियान चलाउँदै आएको छ।

कार्यक्रममा एसपी श्रेष्ठले प्रहरी पोस्ट निर्माण गरिदिएपछि आफूहरुको जिम्मेवारी थपिएको महसुस गरे। उनले जनताको सेवा गरी त्यसको हिसाब चुकाइदिने वचन दिए। इन्टरनेसनल ग्रिन डेभलपर्स नेपाल प्रालिका कार्यकारी उपप्रमुख देउपालाले सामाजिक उतरदायित्वअन्तर्गत आफूहरूले सहयोग गरेको जनाए।

महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) शिशु शर्माले जाडोमा बाटोछेउमा उभिएर सवारी चेकिङ र शान्तिसुक्षामा खटिनुपर्ने प्रहरीका लागि पोस्ट निर्माण गरिदएकोमा धन्यवाद दिए। कार्यक्रममा प्रहरी पोस्ट बनाउन सहयोग गर्ने इन्टरनेसनल ग्रिन डेभलपर्स नेपाल प्रालिसहितलाई कदरपत्र वितरण गरिएको थियो।

प्रकाशित: २० पुस २०७५ ०३:०७ शुक्रबार

भक्तपुर प्रहरी_पोस्ट