समाज

भागेका बालक अभिभावकको जिम्मामा

खोटाङ – घरमा राखिएको पैसा झिकेर भागेका दुई बालकलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ। बुधबार भागेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका १२ वर्षीय दुई बालकलाई नियन्त्रणमा लिएर प्रहरीले बिहीबार अभिभावकको जिम्मा लगाएको हो।

एक बालकका बाबुको झोलामा राखिएको नगद २४ हजार ५ सय रुपैयाँ झिकेर घरबाट हिँडेका दुई बालकलाई बिहीबार दिक्तेलमा फेला पारेर आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए।

घरको पैसा झिकेर भागेका ती दुई बालकले एक–एकवटा मोबाइल सेट, एनसेल नम्बर, एनसेलको सिचार्ज कार्ड किनेको अवस्थामा प्रहरीले दोस्रो दिन दिक्तेलमा फेला पारेको हो। पैसा र लगाउने लुगाफाटा लिएर भागेका बालकको खोजीका लागि अभिभावकले बुधबार साँझ प्रहरीलाई खबर गरेका थिए।

बुधबार होटल भिलेजमा बास बसेका दुई बालकले बिहिबार दिक्तेलस्थित शर्मिला इलेक्ट्रोनिक्सबाट मोबाइल, सिम र रिचार्ज कार्ड निकालेको खुलेको छ। तथ्यांक नराखी बिनाकागजात बालकलाई सिमकार्ड बिक्री गर्नेलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालयले एनसेल कम्पनीलाई पत्राचार गरेको जनाइएको छ।

प्रकाशित: २० पुस २०७५ ०२:३७ शुक्रबार

बालक अभिभावक पैसा प्रहरी