समाज

निर्माणाधीन कार्यालय भवन गाउँपालिका प्रमुखले कोदालोले भत्काए

खोटाङ - खोटाङको रावाबेँसी गाउँपालिकाको निर्माणाधीन कार्यालय भवन गुणस्तरहिन बनेको भन्दै गाउँपालिका प्रमुख लिलानाथ निरौलाले भत्काएका छन्। गाउँपालिकाको निर्माणाधिन भवन गुणस्तरहिन बनेपछि पटक–पटक सच्याउन आग्रह गर्दा पनि ठेकेदारले अटेर गरेपछि गाउँपालिका प्रमुख निरौलाले कोदालो र गैंती लगाएर भत्काइदिएका हुन्। 

७६ लाखको लागतमा तीन महिनाभित्र सम्पन्न गर्नेगरी शुभ एण्ड ध्रुव कन्सट्रक्शन प्रा.लि.ले निर्माणकाे जिम्मा लिएकाे १ तले ४ कोठे भवन गुणस्तहिन बनेपछि गाउँपालिका प्रमुख निरौलाले भवनको भित्री भागको भुँइमा गरिएको ढलान, भवनको पर्खाल र बाहिरपट्टी गरिएको प्लास्टर कोदालोले खनेर भत्काइदिएका हुन् ।

भवन निर्माणका लागि बनाइएको मापदण्ड ख्याल नगरी ठेकेदारले आफूखुशी गुणस्तरहिन भवन बनाएकाले कोदालोले खनेर भत्काइएको प्रमुख निरौलाले बताए। भवनको भुँइतलामा ढुङ्गा बिच्छ्याएर ढलान गर्नुपर्ने सम्झौता भए पनि ठेकेदारले माटोमाथि ढलान गरेको, भुँइमा बिच्छ्याइएको ढुङ्गामाथि चार ईन्च ढलान गर्नुपर्नेमा माटोमाथि दुई ईन्च मात्र ढलान गरिएको तथा ढलानको सामग्री समेत गुणस्तरहिन भएको पाइएपछि भवन भत्काउनु परेको गाउँपालिका प्रमुख निरौलाले बताए।  ‘प्राविधिक लगेर हेर्दा सम्झौता अनुसारको काम भएको पाईएन, चार ईन्च ढलान गर्नुपर्नेमा दुई ईन्चमा गरिएको छ। सोलिङमाथि ढलान गर्नुपर्नेमा माटोमाथि ढलान गरिएको छ,’ गाउँपालिका प्रमुख निरौलाले भने, ‘अत्याचार भएपछि भवनमा कोदालो गैंती हान्नु परेको हो।’ 

निर्माणमा समेत ढिलासुस्ती भएको उक्त कार्यालय भवन निर्माणका लागि दोस्रो पटक थपिएको अवधि समेत गत मङ्सिर १५ गते सकिएको छ। भत्काइएको भवन सच्याएर बनाउनका लागि ठेकेदारलाई निर्देशन दिइएको गाउँपालिकाले जनाएको छ। गाउँपालिका प्रमुखले निर्माणाधिन भवन भत्काएपछि ठेकेदार कम्पनीले पुनः निर्माणको काम थालेको छ।गाउँपालिकाले १ करोड ३ लाखमा टेण्डर आव्हान गरेको भए पनि शुभ एण्ड ध्रुव कन्सट्रक्शनले प्राविधिक मुल्याङ्कन भन्दा कम लागतमा भवन बनाउने जिम्मा लिएको थियो। इँटाको पर्खाल लगाएर कोठा छुट्याइने कार्यालय भवनमा आल्मोनियम जडान गरेपछि १४ कोठा हुने जनाइएको छ। 

प्रकाशित: १९ पुस २०७५ १३:१४ बिहीबार

खोटाङ रावाबेँसी_गाउँपालिका लिलानाथ_निरौला