समाज

बन्द कोठामा सुत्केरीको मृत्यु

काठमाडौं (साँखु)–काठमाडौँको शङ्खरापुर नगरपालिकामा बन्दकोठाभित्र सुतिरहेको अवस्थामा सुत्केरीको मृत्यु भएको छ।

शङ्खरापुर नगरपालिका–७ सुकेखोलामा बुधबार राति परिवारसँग सुतेकी ३२ वर्षीया विन्दु मगरको मृत्यु भएको हो। प्रहरीका अनुसार सुकेखोलाको एक घरमा भाडामा बस्दै आएकी मगर पाँच महिनाकी छोरीसहित बुधबार राति सुत्ने बेलामा कोठाभित्र दाउरा र कोइला बालेर सुतेकी थिइन्। श्रीमान् र तीन छोरीसहित पाँचजनाको परिवार एउटै कोठामा सुतेका उनीहरूमध्ये श्रीमतीको मृत्यु भएको हो।

खबर लगत्तै घटनास्थल पुगेको प्रहरीले घटनास्थलको अवलोकनपश्चात शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको जानकारी दिएको छ।

मृतक मगरको पाँच वर्षीय छोरी एउटा र अन्य साना दुई छोरी छन्। घटनाको प्रकृति हेर्दा चिसो भुईंमा र कोठाको झ्यालढोका सबै बन्द गरी दाउरा बालेर सुतेकाले निसास्सिएर मृत्यु भएको हुनसक्ने आशङ्का रहेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिए। उनले भने, “शव परीक्षणका लागि शिक्षण अस्पताल पठाएका छौँ । थप अनुसन्धान भइरहेको छ।” शवको रिपोर्ट आएपछि मात्रै यथार्थ जानकारीमा आउने उनले बताए। रासस

प्रकाशित: १९ पुस २०७५ १२:३१ बिहीबार

सुत्केरीको_मृत्यु