समाज

वनले लेखेटेपछि मन्त्री भेट्न आए राउटे

तस्बिर ; नगेन्द्र/नागरिक

सुर्खेत - लेकवेशी नगरपालिकाको पार्वती महिला सामुदायिक वनले काठ काट्न नदिएपछि जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदायले कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री नन्दसिंह बुढालाई गुहारेको छ। सामुदायिक वनमा रुखहरु काट्दै गर्दा वनका पदाधिकारी र स्थानीयले बुधबार राउटे समुदायलाई लखेटेका थिए।

‘काठका भाँडाकुँडा बनाउनका लागि पाँच वटा सिमलका रुख ढालेका थियौं’ मन्त्री बुढालाई भेटेर राउटे समुदायका अगुवा महिनबहादुर शाहीले भने, ‘गाउँका मानिस आएर हामीहरुलाई लखेटे।’ राउटे समुदायले रुखहरु काटेको भन्दै सामुदायिक वनका पदाधिकारीले जरिवाना गर्न खोजेपछि उनीहरु विहीबार मन्त्री र अन्य सरोकारवालाहरुलाई भेट्न वीरेन्द्रनगर आएका थिए।

राउटे समुदाय लेकबेशी नगरपालिकाको रतेखोलामा बस्दै आएको छ। काठ काटेर त्यसैबाट कोसी, मधुसलगायतका भाँडाकुँडा बनाएर दैनिकी चलाउने राउटे समुदाय र सामुदायिक वनबीच विभिन्न ठाउँमा विवाद हुँदै आएको छ। राउटे समुदायको गुनासोपछि मन्त्री बुढाले डिभिजन वन कार्यालय सुर्खेतका निमित्त प्रमुख सूर्यप्रसाद शर्मालाई बोलाएर समस्या समाधान गरिदिन निर्देशन दिएका थिए।

डिभिजन वन कार्यालयका निमित्त प्रमुख शर्माले सामुदायिक वनका अध्यक्ष कुमारी पाण्डेसँग कुराकानी गरेका थिए। ‘राउटे समुदायले यसअघि काटिसकेका रुखहरु राउटेलाई नै उपलब्ध गराउने र बाँकी रुखहरु नकाट्ने सहमति भएको छ’ शर्माले भने, ‘काटिसकेका रुखहरु राउटे समुदायलाई आइतबारसम्म उठाउन भनेका छौं।’

मन्त्रीले दिए बाटो खर्च
रुख काट्न पाउनुपर्ने माग राख्न आएका राउटे समुदायलाई कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री नन्दसिंह बुढाले १० हजार बाटो खर्च उपलब्ध गराएका छन्। राउटे समुदायले माघीका लागि खर्च मागेपछि मन्त्रालयकातर्फबाट पाँच हजार र व्यक्तिगततर्फबाट पाँच हजार रुपैयाँ उनले उपलब्ध गराएका थिए। मन्त्री बुढाले माघीका लागि प्रति परिवार एक/एक बोरा चामल दिने प्रतिवद्धता जनाए।

 

प्रकाशित: १९ पुस २०७५ ११:१९ बिहीबार

राउटे कर्णाली_प्रदेश नन्दसिंह_बुढा