समाज

मकवानपुरमा ११ हजारले घर बनाए

मकवानपुर - पुनर्निर्माण लाभग्राही ३३ हजार नौ सय ७४ परिवार रहेको मकवानपुरमा तीन बर्षमा ११ हजार ७५ परिवारले घर निर्माण गरेका छन्। २५ हजार सात सय ९७ परिवारले पहिलो किस्ता लिएका छन् भने १८ हजार तीन सय १८ परिवारले दोस्रो किस्ता लिएका छन्।

पत्रकारसँग बुधबार हेटौंडामा अन्तरक्रिया गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई मकवानपुरले ११ हजार आठ सय ५३ परिवारले तेस्रो किस्ता लिइसकेको जनाएको छ। तर भुकम्प प्रभावित चार हजार दुई सय ४७ परिवारसँग भने सम्झौता समेत हुन सकेको छैन। लालपुर्जाविहीन एक हजार नौ सय ८१ लाभग्राही मध्ये जिल्लाको बागमती, मनहरी र बकैया गाउँपालिकामा एक हजार दुई सय ५४ परिवार रहेको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई मकवानपुरका प्रमुख सोमराज तिमल्सीनाले बताए।

यसैबीच, मकवानपुरमा पुनर्निर्माणकाे क्षेत्रमा सात अर्ब ४५ करोड ३४ लाख रुपैयाँ खर्च भएको छ। भुकम्पपछिको पुनर्निर्माणमा सबैभन्दा धेरै नीजि आवास निर्माणमा पाँच अर्ब पाँच करोड १३ लाख ५० हजार रुपैयाँ खर्च भएको जिल्ला आयोजना कार्यान्वयन ईकाई मकवानपुरले जनाएको छ।

इकाईका प्रमुख तिमल्सीनाले खानेपानी, सिँचाई, सडक निर्माण तथा पहिरो नियन्त्रणमा एक करोड ७१ लाख, तत्कालिन गाविस भवन निर्माण गर्न ५० लाख रुपैयाँ खर्च भएको बताए। त्यस्तै, विद्यालय भवन निर्माणमा करिब दुई अर्ब ३८ करोड रुपैयाँ खर्च गरिएको पुनर्निर्माण प्राधिकरण शिक्षा इकाईका प्रमुख प्रेम केसीले बताए।

त्यस्तै, मकवानपुरमा ११ हजार छ सय ३५ प्रवलीकरण लाभग्राही छन्। तीमध्ये चार हजार चार सय ३५ सँग अनुदान सम्झौता भएकोमा चार हजार दुई सय २५ लाभग्राहीले पहिलो किस्ता रकम लगिसकेको कार्यान्वयन इकाईका प्रमुख तिमिल्सिनाले बताए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका अनुसार छ सय २७ लाभग्राही जोखिम बर्गमा रहेका छन् भने जोखिमयुक्त बस्तीमा रहेका लाभग्राही परिवार २५ रहेका छन्।

मकवानपुरमा आर्थिक बर्ष २०७३/७४ मा ८० वटा गुम्बालाई पुनर्निर्माण गर्न बजेट विनियोजन भएको थियो तर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बजेट स्वीकृत नहुँदा निर्माण हुन सकेको छैन। त्यस्तै, आर्थिक बर्ष २०७४/७५ मा एक सय ३० वटा गुम्बाको सर्वेक्षण भएपनि अन्तिम प्रतिवेदन स्वीकृत नभएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई मकवानपुरले जनाएको छ।

प्रकाशित: १८ पुस २०७५ १२:५७ बुधबार

मकवानपुर पुनर्निर्माण