समाज

पूर्वराज्यमन्त्री शर्माको निधन

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) की नेतृ तथा पूर्वराज्यमन्त्री कमला शर्माको ५५ वर्षका उमेरमा साेमबार निधन भएको छ।

राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनका संयोजक तथा संविधानसभाका सदस्यसमेत रहेकी शर्मा कलेजो र मिर्गाैलाको समस्याबाट ग्रस्त थिइन्। उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको पार्टीका महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए। शर्माका श्रीमान्, एक छोरा र तीन छोरी छन्। उनको साेमबारै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ।

पार्टी अध्यक्ष पशुपतिशम्शेर जवराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि दिएका थिए। शर्माको निधनमा केन्द्रीय कार्यसमितिको साेमबार बसेको आकस्मिक बैठकले उनको निधनबाट पार्टी र राष्ट्रवादी आन्दोलनमा अपूरणीय क्षति पुगेको ठहर गरेको छ। त्यसैगरी पार्टी केन्द्रीय सदस्य शर्माको असामयिक निधनमा शोक जनाउन पार्टी केन्द्रीय कार्यालयसहित पार्टीका सबै तहका कार्यालयमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाइने र कुनै औपचारिक काम नगरिने निर्णय भएकाे छ।रासस 

प्रकाशित: १६ पुस २०७५ १४:४३ सोमबार

राष्ट्रिय_प्रजातन्त्र_पार्टी_(प्रजातान्त्रिक) कमला_शर्मा