समाज

फेरियो व्यवस्था, फेरिएन दुःख

सिन्धुलीको मरिण गाँउपालिका ७ मा रहेका द्वन्द्वपीडित गोरे। तस्बिरः अनिल/नागरिक

सिन्धुली - सानो कोठा, कोठाको केही भागमा सामान्य किराना सामान छन्। बीचमा एउटा सानो काठे खाटमा दुईओटै खुट्टै गुमाएका एक द्वन्द्वपीडित वृद्ध छन्। साविक महादेवस्थान गाविस हाल मरिन गाउपालिका ७ बस्ने गोरे श्रेष्ठ १० वर्षे द्वन्द्वका पीडित हुन्।

द्वन्द्वमा विद्रोही पक्षले दुवै खुट्टा काटेपछि जसोतसो जिविका चलाएका गोरेको अहिलेको दैनिकी भने निकै कष्टकर बनेको छ। सात छोरी र ६ जना छोरा भए पनि उनको साथमा अहिले कोही छैनन्। एउटी नातिनीको रेखदेखमा जेनतेन जीउन उनी वाध्य छन्। उमेरले ८८ वर्ष लगोका उनी घरको भित्र र बाहिर गर्नसमेत नसक्ने अवस्थामा छन्। २०५४ साल पुस १९ मा सुराकीको आरोपमा उनलाई तत्कालीन विद्रोही पक्ष रहेको माओवादीका कार्यकर्ताले खुट्टा काटिदिएका थिए। त्यसबेला उनी वडाध्यक्षसमेत थिए। दुवै खुट्टा काटेपछि औषधि उपचारसहित कृतिम खुट्टाबाट वैशाखीको सहायताले जसोतसो बाहिर–भित्र गर्ने गरेका गोरेको हाल कृतिम खुट्टासमेत भाचिए ‘महँगो हुँदो रहेछ बाबु कृतिम खुट्टा,’ उनले नागरिककर्मीसँग गुनासो गर्दै भने, ‘ २ लाख डिपोजिट गरेपछि मात्रै बनाइदिने भनेका छन्, कहाँ बाट ल्याउनसक्छु र दुई लाख ?’

दुवै खुट्टा काटिएपछि उनको परिवारसमेत क्षतविक्षत भयो। सबै मिलेर जसोतसो गुजरा गर्दै आएका परिवारमा खुट्टा खाटिएपछि छोराछोरी सबैले घर छाडे। उनले काठमाडाैंमा उपचार त गराए तर अब हिँड्ने साहारा कृतिम खुट्टाबाहेक नभएपछि अरुको आश्रित हुनुपरेको दुःखेसो गर्छन्। ‘द्वन्द्वपीडितकै नाममा राज्यले अर्बौ सकेको समाचारमा सुन्छु, उनले भने मैले राम्रो औषधि उपचार पनि पाइन।’ उनले द्वन्द्वपीडितको नाममा आफूले केही सुविधा र केही राहत नपाएको गुनासो गरे। दुई वर्षअघि आफैं मन्त्रालय धाएपछि अपांग भत्ताबापत मासिक ७ हजार रुपैयाँ पाएको उनी बताउँछन्। ‘म दुईओटै खुट्टा नभएको पूर्ण अपांग हुँ। त्यहीअनुसार अपांग भत्ता मात्रै पाएको छु, अन्य राज्यबाट केही सुविधा लिएको छैन।’ अपांग भत्ता पाउने भएपछि उनले केही महिना अगाडि २० हजार ऋण लिएर आफू बस्ने कोठामा सानो किराना पसल सुरु गरेका छन्। ‘र्‍याकमा भएका सामान किन्न आउनेलाई उनी आफैंले झिकेर लैजाउ भन्छु, हातले भेट्ने आफै दिन्छु, पैसा जम्मा गर्छु उनले भने सामान सकिएपछि अटो रिक्सा रिजर्भ गरेर नातीनी वा कसैको सहयोगमा सामान ल्याउने गरेको छु।’

‘मेरा छोराछोरीले राम्रो शिक्षा पाएको भए सायद म अपांग भए पनि यस्तो अवस्थामा रहनुपर्दैन थियो होला। अझै पनि सरकारले मेरो उपचार र बालबच्चालाई शिक्षा दिने कुरामा सहयोग दिए खुसी हुन्थे।’

बालबच्चालाई शिक्षादीक्षा दिने समयमा आफूले दुवै खुट्टा गुमाउनु परेपछि आफ्ना छोराछोरीलाई शिक्षादीक्षा दिन नसकेकोप्रति उनको ठूलो गुनासो छ। ‘मेरा छोराछोरीले राम्रो शिक्षा पाएको भए सायद म अपांग भए पनि यस्तो अवस्थामा रहनुपर्दैन थियो होला,’ उनले भने ‘अझै पनि सरकारले मेरो उपचार र बालबच्चालाई शिक्षा दिने कुरामा सहयोग दिए खुसी हुन्थे।’ उनले १० वर्षे द्वन्द्वबाट व्यवस्था फेरिए पनि आफ्नो अवस्था झन् नाजुक भएको बताए। ‘अरुलाई व्यवस्था फेरियो होला, गाँउगाँउमा सिंहदरबार आयो होला तर मलाई ती सबै सपना भए,’ उनले दुःखेसो गर्दै भने, ‘व्यवस्था फेरियो तर म जस्ता पिडितलाई राज्यले बिर्सियो।’

उनको कृतिम खुट्टासमेत भाचिएपछि दैनिक गुजारा गर्न बिजोग भएको छिमेकी टेकबहादुर भ्लोनले बताए। ‘कृतिम खुट्टा हुँदा यसो बाहिर निस्किएको देख्न सकिन्थ्यो, तर अहिले एउटै थलामा हुनुहुन्छ,’ उनले भने। पीडित गोरेका छोराछोरी कमाउने सिलसिलामा बाहिर छन्, उमेरमा तीन श्रीमती बिहे गरेका गोरेको साथमा हाल कोही छैनन्। तीनमध्ये एक श्रीमती अझै जीवित छिन् तर उनी पनि प्यारालाइसिस भएर उपचारकै क्रममा काठमाडाैँमा भएकाले सँगै छैनन्। ‘मेरो सामान्य कमाइ हो,’ काठमाडौंमा श्रम गर्ने छोरा इन्द्र श्रेष्ठले फोनमा भने, ‘आमाको उपचार गरिरहेको छु, बुबालाई पनि प्रेसरलगायतको समस्या छ, कृतिम खुट्टा भाचिएपछि झनै बिरक्तिनु भएको छ, त्यो किन्न सक्ने हाम्रो हैसियत छैन।’ उनले द्वन्द्वपिडितको नाममा कहिँबाट केही आर्थिक सहयोग हालसम्म नपाएको बताए।
मरिन गाँउपालिका उपाध्यक्ष संगीता माझीले गोरेलाई गाँउपालिकाबाट उपचार खर्च दिने प्रक्रिया अगाडि बढेको बताइन्। ‘गाँउपालिकाको बैठकमै उहाँलाई उपचार खर्च र राज्यबाट पाउने सेवा सुविधाको लागि पहल गर्ने निर्णय भएको छ, यसलाई जतिसक्दो चाँडो निर्णय गराई कार्यान्वयन गराउन सहयोग गर्छु,’ नागरिकर्मीसँगै गोरेको घरमा पुगेकी उपाध्यक्ष माझीले भनिन्, उहाँको अवस्था निकै दयनीय रहेछ, गाँउपालिकाबाट हुने सहयोग गर्छौं।’

प्रकाशित: १६ पुस २०७५ ०१:५१ सोमबार

द्वन्द्वपीडित विद्रोही_पक्ष खुट्टा अशक्त