समाज

आगलागी स्थानमै एकीकृत बस्ती

तस्बिर : पवित्र/नागरिक

सुर्खेत - कर्णाली प्रदेश सरकारले कालिकोटको पलाँताका अग्निपीडितका लागि एकीकृत बस्ती निर्माण गर्ने भएको छ। प्रदेश सरकारले अग्निपीडित परिवार पुनःस्थापना कार्यक्रमअन्तर्गत बस्ती जलेकै ठाउँमा नमुना बस्ती बनाउने निर्णय गरेको हो। नमुना बस्ती निर्माणका लागि प्रदेश सरकारले ४ करोड ३५ लाख रुपियाँ छुट्याएको छ।

‘अग्निपीडितहरूको आवास निर्माणका लागि प्रतिपरिवार पाँच लाखका दरले चार करोड ३५ लाख रुपैयाँ छुट्याएका छौं,’ सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भनिन्, ‘आगोले खरानी भएको बस्तीमै नमुना बस्ती निर्माण गछौं।’ प्रदेश सरकारले बस्तीको नक्सा र प्राविधिक सहयोगको काम अगाडि बढाइसकेको छ। पुस ८ गते भएको आगलागीमा पलाता गाउँपालिका–१ को न्यौपानेखाडाका ८७ घर जलेका थिए।

प्रदेश सरकारले एकीकृत आवास निर्माण र पीडितहरूका लागि तत्कालीन सहयोगलाई एकद्वार प्रणालीमार्फत अगाडि बढाउने निर्णय गरेको छ। अग्निपीडितका आवास निर्माणका लागि पाँच करोड रुपैयाँ लाग्ने अनुमान प्रदेश सरकारको छ। सरकारले अग्निपीडितका आवास निर्माणका लागि सहयोग गर्न सार्वजनिक अपिल गरेको छ।

कालिकोटको पलाता गाउँपालिका–१ न्यौपानेखाडामा एकीकृत बस्ती निर्माणका लागि कर्णाली प्रदेश सरकारले चार करोड ३५ लाख रुपैयाँ छुट्याएको छ।

‘प्रदेश सरकारका तर्फबाट चार करोड ३५ लाख रुपैयाँ छुट्याएका छौं, धेरै ठाउँबाट सहयोगको आश्वासन पाएका छौं,’ प्रवक्ता केसीले भनिन्, ‘सरकारी तथा गैरसरकारी संघसंस्था र व्यक्तिहरूबाट संकलन हुने सहयोगलाई पनि एकद्वार प्रर्णालीमार्फत बस्ती निर्माणमा प्रयोग गर्छौं।’ प्रदेश सरकारले यसअघि प्रतिपरिवार २० हजार नगद र अन्य राहत सामग्री सहयोग गरेको थियो।

मन्त्रिपरिषद् बैठकले प्रदेश र जिल्ला अस्पतालमा राजनीतिक नियुक्ति गरेको छ। प्रदेश अस्पतालको अध्यक्षमा श्यामलाल कँडेल, जिल्ला अस्पताल सल्यानको अध्यक्षमा दामोदर गौतम, मुगु अस्पतालमा पारसमणि मल्ल, डोल्पा जिल्ला अस्पतालमा तेजेन्द्रबहादुर रोकाय, हुम्ला जिल्ला अस्पतालमा छेपाल दोर्जे लामा, कालिकोट जिल्ला अस्पतालमा सरोज बोगटी, दैलेख जिल्ला अस्पतालमा लोमन शर्मा, जाजरकोट जिल्ला अस्पतालमा धर्मशिला बस्नेत, रुकुम जिल्ला अस्पतालमा सुन्दर वली, मेहलकुना अस्पतालमा मानबहादुर खत्री, सुर्खेत आयुर्वेद अस्पतालमा ओमबहादुर बोहरा र जुम्ला आयुर्वेद अस्पतालमा मनोज बुढाथोकीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
कालिकोटको पलाता गाउँपालिका–१ न्यौपानेखाडाको जलेको बस्ती।

प्रकाशित: १५ पुस २०७५ ०१:१६ आइतबार

कर्णाली_प्रदेश अग्निपीडित एकीकृत_बस्ती नमुना_बस्ती