समाज

खाडागाउँका अग्नी पीडितका लागि एकीकृत बस्ती निर्माणको घोषणा

सुर्खेत - कर्णाली प्रदेश सरकारले कालिकोटको पलाताका अग्नी पीडितहरुका लागि एकीकृत बस्ती निर्माण गर्ने भएको छ। प्रदेश सरकारले अग्नी पीडित परिवार पुनस्थापना कार्यक्रम अन्तर्गत बस्ती जलेकै ठाउँमा नमूना बस्ती ठड्याउने निर्णय गरेको हो। नमूना बस्ती निर्माणका लागि प्रदेश सरकारले चार करोड ३५ लाख रुपियाँ छुट्याएको छ।

‘अग्नी पीडितहरुको आवास निर्माणका लागि प्रतिपरिवार पाँच लाखका दरले चार करोड ३५ लाख रुपियाँ छुट्याएका छौं’ सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भनिन्, ‘आगोले खरानी भएको बस्तीमै नमूना बस्ती निर्माण गछौं।’ प्रदेश सरकारले बस्तीको नक्सा र प्राविधिक सहयोगको काम अघाडी बढाइसकेको छ। पुस आठ गते भएको आगलागीमा पलाता गाउँपालिका–१ को न्यौपानेखाडाका ८७ घर जलेका थिए।

प्रदेश सरकारले एकीकृत आवास निर्माण र पीडितहरुको लागि तत्कालिन सहयोगलाई एकद्धार प्रर्णालीमार्फत अघाडी बढाउने निर्णय गरेको छ। अग्नी पीडितका आवास निर्माणका लागि पाँच करोड रुपियाँ लाग्ने अनुमान प्रदेश सरकारको छ। सरकारले अग्नीपीडितका आवास निर्माणका लागि सहयोग गर्न सार्वजनिक अपिल गरेको छ।

‘प्रदेश सरकारका तर्फबाट चार करोड ३५ लाख रुपियाँ छुट्याएका छौं, धेरै ठाउँबाट सहयोगको आश्वासन पाएका छौं’ प्रवक्ता केसीले भनिन्, ‘सरकारी तथा गैरसरकारी संघ–संस्था र व्यक्तिहरुबाट संकलन हुने सहयोगलाई पनि एकद्धार प्रर्णालीमार्फत बस्ती निर्माणमा प्रयोग गछौं।’ प्रदेश सरकारले यसअघि प्रतिपरिवार २० हजार नगद र अन्य राहत सामाग्री सहयोग गरेको थियो।

मन्त्रिपरिषद् बैठकले प्रदेश र जिल्ला अस्पतालमा राजनीतिक नियुक्ती गरेको छ। प्रदेश अस्पतालको अध्यक्षमा श्यामलाल कँडेल, जिल्ला अस्पताल सल्यानको अध्यक्षमा दामोदर गौतम, मुगु अस्पतालमा पारशमणि मल्ल, डोल्पा जिल्ला अस्पतालमा तेजेन्द्रबहादुर रोकाय, हुम्ला जिल्ला अस्पतालमा छेपाल दोर्जे लामा, कालिकोट जिल्ला अस्पतालमा सरोज बोगटी, दैलेख जिल्ला अस्पतालमा लोमन शर्मा, जाजरकोट जिल्ला अस्पतालमा धर्मशिला बस्नेत, रुकुम जिल्ला अस्पतालमा सुन्दर वली, मेहलकुना अस्पतालमा मानबहादुर खत्री, सुर्खेत आयुर्वेद अस्पतालमा ओमबहादुर बोहरा र जुम्ला आयुर्वेद अस्पतालमा मनोज बुढाथोकीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

प्रकाशित: १४ पुस २०७५ १३:१९ शनिबार

कालिकोट आगलगी