समाज

जननी ‘कोमा’ मा

दोलखाको कालिञ्चोक गाउँपालिका–४ लामिडाँडास्थित हिलेपानी संस्कृत माविमा राष्ट्रिय गान गाउँदै विद्यार्थी। तस्बिर : रमेश/नागरिक

लामिडाँडा (दोलखा) – चिटिक्कको भवन, वरिपरि भूकम्पलगत्तै बनाइएका अन्य अस्थायी भवन छन्। तीमध्ये एउटा भवनको झ्यालका बीचमा झुन्ड्याइएको छ– हिलेपानी संस्कृत माध्यमिक विद्यालयको साइनबोर्ड। बोर्डको माथिल्लो लहरमा लेखिएको छ–‘सरस्वती नः सुभगा मयस्करत्’ अर्थात् सरस्वतीले हामीलाई समग्र किसिमको ऐश्वर्यशाली बनाऊन्।

दोलखा कालिञ्चोक गाउँपालिका–४ लामिडाँडास्थित संस्कृत विद्यालयको यही आँगनमा केही वर्षअघिसम्म दैनिक प्रार्थनामा विद्याकी देवी सरस्वतीको उपासना गरिन्थ्यो। कक्षा ६ देखि १० सम्म संस्कृत विषय पढाइ हुन्थ्यो। विद्यार्थीले अनिवार्य संस्कृतसहित ज्योतिष, साहित्य, व्याकरण, आयुर्वेद, नीतिशास्त्रजस्ता ऐच्छिक विषय लिएर पढ्थे। बर्सेनि सातआठ सय हाराहारीमा विद्यार्थी हुन्थे।

जिल्लाकै एकमात्र संस्कृत माविमा यतिखेर न त सरस्वती वन्दना गाइन्छ, न पहिलेजस्तै कक्षाकोठामा संस्कृतका पाठ्यपुस्तक पढाइ हुन्छ। अहिले विद्यालयमा नेपाली भाषाको जननी र पूर्वीय ज्ञानको भण्डार रहेको संस्कृत पठपाठन बन्द छ।

‘दुई वर्षअघिसम्म विद्यालयको पाठ्यक्रममा ६ देखि १० कक्षासम्म अनिवार्य संस्कृत र मावि तहमा ज्योतिष, साहित्य र व्याकरण पढाइ हुन्थ्यो’, विद्यालयका प्रधानाध्यापक रामलाल पन्थीले भने, ‘विद्यालय व्यवस्थापन समितिको निर्णयबाट अघिल्लो शैक्षिक सत्रदेखि संस्कृतबाहेक साधारणतर्फका पाठ्यक्रमअनुसारका पठनपाठन खुला गरियो।’ अहिले विद्यालयमा ६ देखि ९ कक्षासम्म संस्कृत विषय लिने विद्यार्थी एकजना पनि छैनन्। ‘१० कक्षाका विद्यार्थीले चाहिँ संस्कृत पढिरहेका छन्’, उनले भने, ‘आगामी शैक्षिक सत्रदेखि यो विषय पढ्ने विद्यार्थी पाउन मुस्किल छ।’

जिल्लाकै एकमात्र संस्कृत माविमा यतिखेर न त सरस्वती वन्दना गाइन्छ, न पहिलेजस्तै कक्षाकोठामा संस्कृतका पाठ्यपुस्तक पढाइन्छ। नेपाली भाषाको जननी र पूर्वीय ज्ञानको भण्डार संस्कृत पठपाठन बन्द छ।

२०३१ सालमा स्थापित यो विद्यालयले २०४८ सालमा संस्कृत माविको अनुमति लिएको थियो। गाउँमा संस्कृत शिक्षाका अगुवा थिए स्थानीय मुक्तिनाथ घिमिरे। पहिले प्राथमिक तहसम्म मात्र पढाइ हुने विद्यालयले उनकै पहलमा संस्कृत शिक्षकको दरबन्दीसहित माविको स्वीकृति पाएको थियो। जिल्लाकै एकमात्र संस्कृत विद्यालयमा दरबन्दी आएपछि धमाधम शिक्षक विद्यालयमा खटिए। त्यतिबेलै खटिएका प्रधानाध्यापक पन्थीले ज्योतिष पढाउन थाले। मित्रप्रसाद भण्डारीले व्याकरण, पर्शुराम लामिछानेले साहित्य, रामकुमार केसीले संस्कृत भाषा अध्यापन गराए। आयुर्वेद पढाउने शिक्षक नपाएपछि विद्यालयका अगुवा घिमिरे आफैंले स्वयंसेवकका रूपमा तीन वर्ष आयुर्वेद पढाए।

त्यसयता २०५८ सम्म विद्यालयमा नियमित संस्कृत कक्षा चल्थ्यो। ‘अनिवार्य संस्कृत भाषाबाहेक व्याकरण, साहित्य, आयुर्वेद, ज्योतिषजस्ता विषय लिएर पढ्न विद्यार्थीबीच प्रतिस्पर्धा चल्थ्यो’, २५ वर्षदेखि विद्यालयमा कार्यरत प्रधानाध्यापक पन्थीले अनुभव सुनाए।

माओवादीको सशस्त्र विद्रोह चर्किंदै जान थाल्यो। तत्कालीन विद्रोही माओवादीले संस्कृत विद्यालय मास्ने अभियान चलाए। तत्कालीन जिल्ला नेताहरू कृपाश्वर, देवी खड्कासहित दर्जनांै नेता तथा लडाकुको उपस्थितिमा विद्यालयबाट संस्कृत शिक्षा बन्द गरेको घोषणा गरियो। त्यतिबेला माओवादीहरूले निहित स्वार्थका लागि संस्कृतमाथि आक्रमण गरेका थिए। दक्षिण एसियामा बोलिने नेपाली, हिन्दी, बंगाली, मैथिली, भोजपुरीलगायतका अनेकन् भाषाको जननी संस्कृत भाषामा पठपाठन गराउन चाहने अभियन्ता विद्रोहीका अगाडि निरीह बने।

विद्यालयमा साधारणतर्फका नियमित पाठ्यक्रम मात्र चल्न थाल्यो। संस्कृत शिक्षकको दरबन्दी उथलपुथल भयो। संस्कृततर्फका शिक्षक कसैले सामाजिक, कसैले जनसंख्या त कसैले नेपाली विषय पढाउन थाले। २०६२÷६३ को जनआन्दोलनपछि जनयुद्ध समाप्त भयो। राजधानीमा बसेर पढेका मुक्तिनाथका छोरा जनार्दन घिमिरे संस्कृत विषयका विद्वान् कहलिँदै थिए। पौरस्त्य दर्शनका कुशल व्याख्याता घिमिरे त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक र सञ्चारकर्मीसमेत थिए। बन्द संस्कृत विषयको पठनपाठन फेरि गराउन उनले माओवादी नेताहरूसँग संवाद गरे। सबै सकारात्मक भएपछि २०६५ बाट संस्कृत विषय पठनपाठन सुरु भयो।

विद्रोही माओवादीले संस्कृत विद्यालय मास्ने अभियान चलाए। तत्कालीन जिल्ला नेताहरू कृपाश्वर, देवी खड्कासहित दर्जनाैं नेता तथा लडाकुको उपस्थितिमा विद्यालयबाट संस्कृत शिक्षा बन्द गरेको घोषणा गरियो।

सात वर्षसम्म पठनपाठन बन्द भएका कारण विद्यार्थीमा संस्कृत भाषाप्रतिको लगाव घट्दै जान थालेको थियो। अभिभावकसमेत संस्कृत विषय जोगाइराख्न चासो दिँदैनथे। ज्योतिष विषय पढ्दा गणित, योगफलजस्ता हिसाबका सूत्र निकाल्न गाह्रो भएको, व्याकरण पढ्न गाह्रो परेको, संस्कृत विषय ब्राह्मण समुदायको मात्र भएको जस्ता गुनासो गरेर फेरि संस्कृत पठनपाठन बन्द गराउन बहस सुरु भयो।

दुई वर्षअघि सडक दुर्घटनामा परेर जनार्दन, उनका पिता मुक्तिनाथसहित परिवारै गुम्यो। त्यसपछि विद्यालयमा संस्कृत पढाउनुपर्छ भनेर बोलिदिने कोही भएन। विद्यालय व्यवस्थापन समितिले संस्कृत भाषाको अनिवार्य विषय पठनपाठनबाट हटाउँदै साधारणतर्फका विषय खुला गर्ने निर्णय भयो। पढाइ नभए पनि विद्यालयको पुस्तकालयमा ६ देखि ९ कक्षासम्मका संस्कृतका पुस्तक सुरक्षित छन्।

गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले संस्कृत अध्ययन बन्द गरिएकोमा असन्तुष्टि प्रकट गरे। ‘जिल्लाकै एक मात्र संस्कृत स्कुलमा अहिले १० कक्षाको अन्तिम ब्याच मात्र संस्कृत पढ्दैछन्’, उनले भने, ‘विद्यार्थी नभएपछि बन्द गरिएको भन्ने सुनेको छु’। थामीले संस्कृत भाषा लोप हुन नदिने र पुनः पढाइ थाल्न गाउँपालिकाले पहल गर्ने प्रतिबद्धता जनाए।

जनयुद्धले लियो संस्कृतको हुर्मत
कुनै बेला जिल्लाभरका विद्यालयमा संस्कृत पढाइ हुन्थ्यो। जिल्लाका पुराना शिक्षकका अनुसार २०५५÷५६ सालसम्म जिल्लाका सबै माविका ६, ७ र ८ कक्षामा ५० पूर्णांकको अनिवार्य संस्कृत पढाइ हुन्थ्यो।

भीम मावि दोलखा बजारमा ३० वर्ष पढाएर निवृत्त ईश्वरी दाहालका अनुसार त्यस बेलाको संस्कृत भाषाको पुस्तक आफैंमा नैतिक शिक्षाको स्रोत थियो। ‘त्यो विषय मैले पढाउँथें’, उनले भने, ‘पाठमा यति प्रेरणादायी प्रसंग हुन्थे, जुन विद्यार्थीलाई मात्र नभई शिक्षकका लागि पनि ऊर्जाशील हुन्थ्यो’। नैतिक शिक्षाको राम्रो अभ्यास हुने संस्कृतका कक्षामा शुद्ध भाषा प्रयोगको विधिसमेत सिकाइन्थ्यो। ‘संस्कृत नेपाली भाषाको जननी भएकाले यसको व्याकरण साह्रै शुद्ध र मिठासपूर्ण हुन्थ्यो’, उनले भने।

माध्यमिक विद्यालयमा चलिरहेको संस्कृत शिक्षा मासिनुको मुख्य कारण हो माओवादी जनयुद्ध। सामन्तवादलाई मुख्य शत्रु भनेको तत्कालीन माओवादी नेतृत्वले संस्कृत शिक्षालाई सामन्ती प्रथाको सूत्राधार देख्यो। संस्कृत पठनपाठन बन्द गर्न माओवादीले देशभरका सामुदायिक विद्यालयमा उर्दी लगाएको थियो।

कुटिडाँडा मावि मकैबारीका प्रधानाध्यापक शंकरलाल श्रेष्ठ त्यतिबेला दोलखा माओवादी प्रभावित क्षेत्र जुगुको नीलकण्ठेश्वर माविमा प्रधानाध्यापक थिए। उक्त विद्यालयमा ६,७ र ८ कक्षालाई कमल घिमिरेले संस्कृत पढाउँथे। एकपटक हतियारसहित ठूलो संख्यामा माओवादी नेताकार्यकर्ता विद्यालय प्रवेश गरे। संस्कृत पढाउन बन्द नगरे शिक्षक र प्रधानाध्यापक दुवैलाई कारबाही गर्ने धम्की दिएर उनीहरू फर्किए। संस्कृत मास्ने माओवादी उर्दी जिल्लाभरका विद्यालयमा गयो।

श्रेष्ठका अनुसार माओवादी धम्की बढ्दै गएपछि अगुवा प्रधानाध्यापक सदरमुकाममा भेला भए। उनीहरूले तत्कालीन प्रमुख जिल्ला अधिकारी र जिल्ला शिक्षा अधिकारीलाई ज्यानै जोखिममा रहेकाले संस्कृत पढाउन नसकिने जानकारी गराए। त्यसपछि प्रायः विद्यालयमा संस्कृत पठन बन्द भयो।

भीम माविका पूर्वशिक्षक दाहालका अनुसार ग्रामीण क्षेत्रमा ५५ सालतिरै संस्कृत पठन बन्द भए पनि सदरमुकाम आसपासमा भने ५८ सम्म संस्कृत पढाइ भइरहेको थियो। ‘५८ सालको परीक्षामा माओवादी कार्यकर्ता प्रश्नपत्र खोस्न आए। त्यसपछि हामीले पनि संस्कृत पढाउन बन्द गर्यौं।’

कुटिडाँडा माविका प्रधानाध्यापक श्रेष्ठ तत्कालीन विद्रोही माओवादीको दबाब र अभिभावकमा पनि अंग्रेजीप्रतिको मोह बढ्दै गएकाले संस्कृत मासिएको बताउँछन्। ‘तत्कालीन विद्रोही पक्षले देशभरका शिक्षकलाई धम्की दिएपछि सरकार आफैं बन्द गर्न बाध्य भयो’, उनले भने, ‘अभिभावकले पनि अंग्रेजीतर्फ मोह बढाएपछि संस्कृत मासियो।’ जिल्लाभरका विद्यालयमा संस्कृत शिक्षा मासिए पनि शान्ति प्रक्रियापछि एकमात्र संस्कृत मावि हिलेपानीमा नियमित पढाइ हुनेमा शिक्षकहरू ढुक्क थिए। तर हिलेपानी संस्कृत माविमा पनि संस्कृत टिक्न सकेन।

प्रकाशित: १४ पुस २०७५ ००:५५ शनिबार

हिलेपानी_संस्कृत_मावि संस्कृत_पाठ्यपुस्तक विद्रोही_माओवादी पठपाठन