समाज

अग्निपीडित बालबालिका : न पढाइ न स्वास्थ्य सेवा

कालिकोट - पलाँता गाउँपालिकाको खाँडागाउँका आगलागीपीडितमा स्वास्थ्य सेवाको अभाव देखिएको छ। तीन तहका सरकारले गुजाराका लागि खाद्यान्न तथा न्यानोका लागि लत्ताकपडाको व्यवस्था गरे पनि स्वास्थ्यमा भने ध्यान पुर्‍याउन सकेको देखिँदैन। ८७ घरधुरीका पाँच सयभन्दा बढी अग्निपीडित स्वास्थ्य सेवाको अभावले समस्या सिर्जना हुने सम्भावना बढेको बताइएको छ।

अग्निपीडितलाई कसरी बचाउने भन्ने विषय पहिलो प्राथमिकतामा परेकाले स्वास्थ्यमा ध्यान पुर्‍याउन नसकिए पनि अब सबै पीडा समाधान गर्नेगरी अगाडि बढ्ने गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए। ‘जिल्ला स्वास्थ्य कार्यालयसँग समन्वय गरेर स्वास्थ्य शिविर नै राख्ने तयारी भइरहेको छ,’ उनले भने। गएको आइतबार राति खाँडागाउँमा लागेको आगलागीले साना साना बालबालिका निकै प्रभावित बनेका छन्।

खाडाँगाउँस्थित गणेश आधारभूत विद्यालयका एक सय ३० बालबालिका पढ्नलेख्नबाट पनि वञ्चित भएका छन्। आगो लागेर गाउँ नै खरानी बनेपछि सबै पीडित खुला आकाशमुनि बस्न बाध्य हुँदा त्यसको सबैभन्दा बढी प्रभाव बालबालिकामा परेको हो। विद्यालयका प्रधानाध्यापक सर्पनन्द न्यौपानेका अनुसार बालबालिकाको स्वास्थ्य र भविष्य बिग्रिने खतरा बढेको छ। आगलागी भएको रातबाट बालबालिकामा मानसिक असर पर्न थालेको उनी बताउँछन्।

आगो लागेर गाउँ नै खरानी बनेपछि सबै पीडित खुला आकाशमुनि बस्न बाध्य हुँदा त्यसको सबैभन्दा बढी प्रभाव बालबालिकामा परेको हो।

‘चाँडै स्वास्थ्य शिविर सञ्चालन गर्नु जरुरी छ,’ अग्निपीडित लालमणि न्यौपानेले भने, ‘छोराछोरी स्कुल नगएको साता दिन हुन लागिसक्यो। पढ्नु त परको कुरा भयो, राम्ररी खान–बस्न पनि पाएका छैनन्। चाउचाउले पेट भर्नुपरेको छ। मेसमा चाहिएको बेला उनीहरूले खान पाउँदैनन्।’ खाँडागाउँका बालबालिकाले आफू बसिरहेकै गणेश आधारभूत र अलि पर धौलागोह राडुुनेटाको विद्यालयमा अध्ययन गर्ने गरेका छन्। एक सय ३० बालबालिकामध्ये गणेश आधारभूतमा ७४ जना र राडुनेटामा ५६ जनाले अध्ययन गर्ने गरेका शिक्षक न्यौपानेले जानकारी दिए। उनका अनुसार राडुनेटामा पढ्ने विद्यार्थीलाई आउनजान दुई घन्टा लाग्छ। विगतमा घरमा पाकेको खाएर आउनजान बानी परेका बालबालिका यतिखेर ठूलो पीडामा परेका छन्। ‘जताबाट पनि ओढ्नेओछ्याउने र लगाउने कपडा मात्र आउने गरेको छ,’ कक्षा ८ मा पढ्ने समला न्यौपानेले भनिन्, ‘खान र बस्न निकै समस्या छ। कतिबेला खाना खाएर स्कुल जानु भन्ने भइरहन्छ।’

प्रकाशित: १३ पुस २०७५ ०२:२८ शुक्रबार

अग्निपीडित बालबालिका पढाइ स्वास्थ्य