समाज

‘सुरुमै प्रतिकार गरे यौनजन्य अपराध हुन पाउँदैन’

खोटाङ – ‘जोकोहीको यौनजन्य नियत सुरुमै थाहा पाइन्छ, चाल पाइन्छ। त्यसैले, तत्काल प्रतिकार गरिहाल्नुस्, अपराधीलाई कुनै मौका नदिनुस्।’ यो भनाइ हो, जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीको। बढ्दो बलात्कार र हिंसा न्यूनीकरणका लागि सचेतना जगाउने उद्देश्यले बिहीबार दिक्तेल बहुमुखी क्याम्पसमा आयोजित विद्यार्थीसँग प्रहरी कार्यक्रममा सहभागी छात्रछात्रालाई यौनजन्य हिंसाबाट बच्ने उपायबारे बताउने क्रममा डिएसपी केसीले उल्लिखित भनाइ प्रस्तुत गरेका हुन्।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा डिएसपी केसीले यौनजन्य क्रियाकलापको ‘हिन्ट्स’ थाहा पाउनेबित्तिकै कडा प्रतिवाद÷प्रतिकारमा उत्रने बानीको विकास गर्न सके आपराधिक मानसिकता भएका व्यक्तिको पन्जाबाट जोगिन सहज हुने भन्दै छात्राहरूलाई सुझाव दिए। ‘कुनियत भएका व्यक्तिले सुरुमा बोलाउँछ मात्र, त्यसपछि मेसेज पठाउँछ अनि नजिक आउन थाल्छ। त्यसरी हिन्ट्स् दिँदा पनि चुप बस्नुभयो भने यिनले केही नगर्ने रहेछ भनेर उसको मनोबल बढ्छ। र, मौका छोपेर बलात्कार र हत्यासम्म गर्न सक्छ,’ उनले भने, ‘त्यसैले अपराधीलाई अवसर दिनु हुँदैन। सुरुमै प्रतिकार गरे अपराधको बाटो बन्द हुन्छ।’

डिएसपी केसीले हिंसा, यौन दुव्र्यवहार र बलात्कारबाट जोगिने उपायबारे बताइरहँदा उपस्थित कक्षा ११ र १२ तथा स्नातक तहका छात्रछात्रा ध्यानपूर्वक सुनिरहेका थिए। महिला हिंसा, बलात्कार, एसिड आक्रमण र हत्याका घटना दिनानुदिन बढिरहेका बेला जिल्ला प्रहरी कार्यालय खोटाङ र सामुदायिक विकास सेवा केन्द्रले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत क्याम्पस तहका छात्र÷छात्रालाई लक्ष्तित गरेर सचेतनामूलक कार्यक्रम गरेको हो। कार्यक्रममा यौनजन्य हिंसा, साइबर क्राइम र आत्महत्याबारे जानकारी गराइएको छ।

डिएसपी केसीका अनुसार गत साउनदेखि हालसम्म जिल्लामा १७ वटा यौनजन्य हिंसाका घटनामध्ये १५ वटा चिनजानका र आफन्तबाटै भएको पाइएको छ।‘यौनजन्य हिंसा चिनजान भएका र आफन्तबाटै बढी हुने देखिएको छ,’ उनले भने, ‘सँगै घुमफिरमा जाने, सँगै सपिङमा जाने अनि बिसाउने बहनामा अपराध हुने गरेको पाइएको छ।’ उनले जोकोहीलाई भेट्ने नाममा एकान्तमा एक्लै नजान र अपरिचितको फोन आए नबोल्न आग्रह गरे। खोटाङमा समेत महिला हिंसा, दुव्र्यवहार र बलात्कारको घटना बढ्दो पाइएपछि प्रहरीले विद्यालय तथा क्याम्पसमा पुगेर विद्यार्थीलाई सहभागी गराएर सचेतनामूलक कार्यक्रम गर्दै आएको छ।

प्रकाशित: १३ पुस २०७५ ०२:१७ शुक्रबार

यौनजन्य अपराध प्रतिकार