समाज

बम्जन आश्रमबाट पाँच बेपत्ता

सिन्धुलीमा निर्माणाधिन अवस्थामा रहेकाे बम्जनकाे आश्रम। तस्बिर : अनिल/नागरिक

सिन्धुली - हेटाैंडा नगरपालिका– १३ का सञ्चलाल वाइबा करिब तीन वर्षअघिसम्म तपस्वी रामबहादुर बम्जनका आश्रममा थिए। उनी एकाएक त्यहाँबाट बेपत्ता भए। यस्तै बारा कलैयाका सुरेश आलेमगर पनि तीन वर्षअघिसम्म बम्जन आश्रममै थिए। उनी पनि बेपत्ता छन्। बेपत्ता भएपछि उनीहरूका आफन्तले विभिन्न ठाउँमा खोजी गरे। बम्जन आश्रममा सोधखोज गरे। आश्रमबाट हिँडेको भन्ने जानकारी पाए पनि पत्ता लागेन।

सिन्धुली कमलामाई–८ स्थित पहिरेमा तपस्वीका रूपमा बस्दै आएका रामबहादुर बम्जनमाथि पाँचजना बेपत्ता बनाएको आरोप लागेको छ। बम्जनको आश्रममा बस्दै आएका आनी तथा अन्य गरी चारजना परिवारको सम्पर्कमा नपुगेकाले तपस्वी बम्जनको आश्रमबाटै बेपत्ता भएको परिवारजनले आरोप लगाएका छन्। ‘लामो समयदेखि हराइरहेका छन्। आजसम्म छोरो फर्किएन’, सुरेशका बाबु हस्तबहादुर आलेले भने, ‘खोजी गरिदिन आग्रह गर्दै कलैया प्रहरीमा उजुरी गरेको छु।’ उनले तीन वर्षदेखि छोरा धर्म गर्छु भनी आश्रमबाट बेपत्ता भएको जनाए।

लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रमबाट फूलमाया रुम्बा, कर्म वाइबा र लमिनमाया वाइबा बेपत्ता भएको परिवारजनले जनाएका छन्। यद्यपि लमिनमायालाई भने बोधी श्रवण धर्म संघले परिवारको जिम्मा लगाएको बताएको छ। २०७१ सालसम्म तपस्वी बम्जनकै आश्रममा रहेको भनिएका फूलमाया वाइबा र कर्म वाइबा अझै बेपत्ता छन्।

चार महिनाअघि रौतहटकी गंगामाया तामाङले आफू तपस्वी बम्जनबाट बलात्कृत भएको भन्दै पत्रकार सम्मेलन गरी जानकारी गराएकी थिइन्। तर उनको भनाइलाई उनकै बाबु रणे मोक्तानले आफ्नी छोरीलाई कसैले उचालेर भ्रामक प्रचार गर्न लगाएको बताएका थिए। त्यसको केही महिनापछि बम्जन बसेका विभिन्न आश्रमबाट उनका अनुयायी बेपत्ता भएको भन्दै उजुरी पर्न थालेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उनीहरूका आफन्तले बेपत्ता भएको भन्दै खोजिदिन अनुरोधसहित निवेदन दिएपछि बम्जन आश्रमबाट बेपत्ता भएको खुलासा भएको हो। २०७१ सालसम्म आश्रममै रहेका र ०७२ सालमा खोजतलास गर्न बम्जन आश्रममा जाँदा यहाँबाट गइसकेको भन्दै आफन्तलाई फर्काएपछि आफन्त खोजतलास गर्न काठमाडाैंका विभिन्न गुम्बामा पुगेका थिए। कतैबाट पनि सम्पर्कमा आउन नसकेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुर हेटौंडामा खोजतलास गरिदिन भन्दै निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका ज्ञिप्रसाद भट्टराईले फोनमा नागरिकलाई जानकारी दिए। उनका अनुसार बेपत्ता भनिएकी फूलमाया रुम्बाका भाइ विजय रुम्बाले र सञ्चलाल वाइबाका छोरा महेन्द्र वाइबाले पाँच वर्षदेखि आफन्त हराइरहेको भन्दै उजुरी दिएका छन्।

‘०७१ सालमा बम्जन आश्रममा सम्पर्क भएको र त्यसपछि सम्पर्क हुन नसकेको भन्दै आफन्तले उजुरी दिएका छन्’, डिएसपी भट्टराईले भने, ‘हामी तपस्वी बम्जनको तपस्यास्थललगायतका क्षेत्रको जानकारी लिने प्रयास गरिरहेका छाैं।’ बम्जनका विषयमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी नपरेको प्रहरीले जनाएको छ। ‘उजुरी नपरी छानबिन गर्न गाह्रो छ’, जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वरप्रसाद यादवले भने, ‘तपस्वी बम्जनका विषयमा हालसम्म कुनै उजुरी आएको छैन।’

भ्रम फैलाउन आरोप
बोधी श्रवण धर्म संघले भने बम्जनमाथि भ्रम फैलाउन व्यक्ति बेपत्ता बनाएको आरोप लगाइएको जनाएको छ। हराएका भनिएका तीन जना आनी ०७१ सालमा तपस्वी बम्जनकै आश्रममा रहे पनि उनीहरू पूर्ववत् धर्म (पहिलेदेखि मान्दै आएको बुद्ध धर्म) मै फर्किएको र आरोप निराधार भएको संघको स्पष्टोक्ति छ।

संघका केन्द्रीय सदस्य छत्र घिसिङले भने, ‘उनीहरू हाम्रो गुरु (रामबहादुर बम्जन) लाई सिध्याउने तरिकाले आएका रहेछन्। उनीहरुको गतिविधि देखेर परिवारको जिम्मा लगाउन परिवारजनमा सम्पर्क गर्ने प्रक्रिया अगाडि बढाउँदै गर्दा आश्रमबाट भागेका हुन्। आश्रमबाट भागेपछि उनीहरू पूर्ववत् धर्ममै फर्किएका छन्।’ उनले धार्मिक भ्रम फैलाउने कोसिस भएको आरोप लगाए।

प्रकाशित: १२ पुस २०७५ १४:२७ बिहीबार

आश्रम रामबहादुर_बम्जन बेपत्ता